तारागाउँ रिजेन्सीकाे शेयर काराेबार फुकुवा

तारागाउँ रिजेन्सीकाे शेयर काराेबार फुकुवा


काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तारागाउँ रिजेन्सी होटल्स लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ। तारागाउँले मानवीय त्रुटीका कारण समयमै लाभांस घोषणाको जानकारी दिन नसकेकाे स्पष्टीकरण दिएपछि नेप्सेले कारोबार फुकुवा गरेको हो।

साेमबार नेप्सेले तारागाउँकाे शेयर काराेबार राेक्दै तीन दिने स्पष्टीकरण साेधेकाे थियाे। गत मंसिर १६ गते बसेको कम्पनीको बैठकले गरेको लाभांस घोषणाको जानकारी तोकिएको समयभित्र नदिएपछि नेप्सेले स्पष्टीकरण सोधेको हो।

कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीका लागि चुक्ता पुँजीको ११ प्रतिशत नगद तथा ४ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१)मा भएको व्यवस्था अनुसार लाभांस घोषणासम्बन्धी जानकारी सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्दछ।

तर तारागाउँले मंसिर १७ साँझ ५ः१५ मा मात्रै उक्त जानकारी नेप्सेमा पठाएको थियो।