सोनापुर मिनरल्सले पनि प्रिमियममा आईपीओ ल्याउने

सोनापुर मिनरल्सले पनि प्रिमियममा आईपीओ ल्याउने


बैकिङ्ग समाचार । 
सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले पनि प्रिमियम मूल्यमा प्राथामिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

सरकारले पूँजीबजारमा रहेको बैंक तथा वित्तीय संस्थाहरुको उच्च हिस्सा घटाएर वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउनका लागि बजेट मार्फत कर छुट सुविधा दिने नीति लिएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले सो नीति कार्यान्वयन गर्दै बुक बिल्डिङ विधिबाट प्रिमियम मूल्यमा शेयर जारी गर्नसक्ने व्यवस्था गरेको छ ।

बोर्डले गत साता (पुस २३ गते) बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न ४६ वटा संस्थागत लगानीकर्ता छनौट गरेपछि वास्तविक क्षेत्रका कम्पनीहरु पनि बुक बिल्डिङ्ग विधिबाट शेयर जारी गर्न तयार भएका हुन् । यस प्रकृयाबाट शेयर जारी गर्न सिमेन्ट कम्पनीहरु अगाडि देखिएका हुन् ।

सोनापुरले प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने विशेष प्रस्ताव सहित माघ २२ गते बिहीबार बत्तीसपुतली स्थित आफ्नै कार्यालयमा बिहान ११ बजे १३ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड पश्चिम नेपालमा सबैभन्दा धेरै सिमेन्ट उत्पादन गर्ने कम्पनी हो । दाङमा उद्योग रहेको कम्पनीले आधा दर्जन ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले सोना सिमेन्ट, सोना टेक सिमेन्ट सोना श्री सिमेन्ट लगायत ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ ।