काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सहमति तथा समझदारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी आर्थिक परिणाममा रूपान्तरण गर्नुपर्ने बताएको छ। महासंघले प्रधानमन्त्रीको भारत भ्रमणबाट प्राप्त उपलब्धि केवल कूटनीतिक सहमति र घोषणामा सीमित नराखी नागरिक तथा व्यवसायीले प्रत्यक्ष अनुभूति गर्ने आर्थिक परिणाममा रूपान्तरण गर्नुपर्ने बताएको हो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशबीच भएका महत्त्वपूर्ण सहमति, समझदारी तथा संयुक्त पहलले नेपालको आर्थिक विकास र समृद्धिका लागि नयाँ सम्भावनाका ढोका खोलेको महासंघले जनाएको छ। भ्रमण दलमा निजी क्षेत्रको प्रतिनिधित्व गरेका महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल–भारत सम्बन्धलाई अब व्यापार, लगानी र आर्थिक सहकार्यका माध्यमबाट नयाँ उचाइमा पुर्याउनुपर्ने बताउँदै प्रधानमन्त्रीको भ्रमणले त्यसका लागि महत्त्वपूर्ण आधार तयार गरेको बताए।
भारतको नयाँदिल्लीमा आयोजित नेपाल–भारत विजनेश राउण्ड टेवल कार्यक्रममा सम्बोधन गर्दै महासंघका अध्यक्ष श्रेष्ठले भारतसँगको व्यापारिक सम्बन्धलाई थप सन्तुलित र व्यावसायिक बनाउनुपर्नेमा जोड दिएका थिए। अध्यक्ष श्रेष्ठले नेपाल र भारतबीच व्यापार, पारवहन, पूर्वाधार विकास तथा सञ्जाल विस्तार, ऊर्जा, प्रविधि र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्न सातवटा प्राथमिकता अघि सार्दै नेपाली उद्योगीले भारतमा भोगिरहेका गैर भन्सार अवरोध समाधानका लागि दुवै देशका निजी क्षेत्रले संयुक्त पहल गर्नुपर्ने बताए।
उनले भने, ‘भूगोलले हामीलाई छिमेकी बनायो र इतिहासले हामीलाई परिवार बनायो। अब व्यवसायले हामीलाई प्रगतिको साझेदार बनाउनुपर्छ।अब संवादबाट सम्झौतामा, सम्भावनाबाट परियोजनामा र असल छिमेकीबाट महान् साझेदारतर्फ अघि बढौँ । नेपाल व्यावसायिक अवसरहरूका लागि खुला छ।’ सो अवसरमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी, संयुक्त उद्यम तथा व्यावसायिक सहकार्यका अवसर उपयोग गरी साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन आह्वान गरे। साथै महासंघ र सिआईआईले गरेको प्रयास सकारात्मक रहेको बताए। भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले महासंघले उठाएका जुट, स्टिल, विआईएस र युपीआई पेमेन्ट सम्बन्धी चासोका विषयमा परिणाम निस्कने गरी कार्य गर्नुपर्ने बताए । उनले भने, ‘भारत विभिन्न क्षेत्रमा लगानी गर्न इच्छुक छ । त्यसैले मिलेर कार्यान्वयन तहमा आर्थिक गतिविधि बढाउनु पर्छ।’
यसैगरि, सीआइआई अन्तर्राष्ट्रिय परिषद्का सहअध्यक्ष तथा सार्क चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष बिक्रमजीत सिंह सानेले नेपाल र भारतका बीच एतिहासिक सम्बन्ध रहेको र दुई देशबीचको आर्थिक तथा व्यापार गतिविधिलाई प्रभावकारी बनाउँदै लैजानु पर्ने बताए। महासंघ र भारतीय उद्योग परिसंघ (सीआईआई) ले नेपाल र भारतको आर्थिक विकास र समृद्धि र साझा आर्थिक मुद्दाहरुमा दुवै देशका सरकारलाई पहिले देखि नै सुझाव दिँदै आएको छ । भ्रमणका क्रममा जारी ‘विकसित भारत–समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दूरदृष्टि दस्ताबेजले आगामी दिनमा दुई देशबीचको आर्थिक तथा विकास साझेदारीलाई थप व्यवस्थित र परिणाममुखी बनाउन सहयोग पुग्ने महासंघको विश्वास गरेको छ। महासंघले प्रधानमन्त्रीको भारत भ्रमणबाट सिर्जित सकारात्मक वातावरणलाई उपयोग गर्दै नेपाल–भारत आर्थिक सम्बन्धलाई परिणाममुखी बनाउन, भएका सहमति तथा सम्झौताको समयबद्ध कार्यान्वयन गर्न र निजी क्षेत्रलाई आर्थिक साझेदारीको प्रमुख साझेदारका रूपमा स्थापित गर्न दुवै देशका सरकारसँग आग्रह गरेको छ।
नेपालमा भारतीय लगानी अपेक्षाअनुसार विस्तार हुन नसकेको अवस्थालाई ध्यान दिँदै लगानीका अवसर पहिचान, नीतिगत स्थिरता, लगानी सुरक्षाको प्रत्याभूति र प्रतिफल फिर्ताको सहज व्यवस्था सुनिश्चित गर्नुपर्ने महासंघले जनाएको छ । यसका साथै नेपाली उत्पादनले भारतीय बजारमा भोग्दै आएका जुट, स्टिल, गुणस्तर प्रमाणीकरण तथा भारतीय मानक ब्युरो (बीआईएस) सम्बन्धी समस्याको समाधानलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा महासंघले जोड दिएको छ । व्यापारमा रहेका गैरभन्सार अवरोध हटाउने, गुणस्तर प्रमाणीकरण निकायबीच पारस्परिक मान्यता कायम गर्ने र सीमा नाकामा सहज तथा व्यवस्थित जाँचपासको व्यवस्था गर्ने विषयमा दुवै देशका सरकारबीच निरन्तर संवाद आवश्यक रहेको महासंघले उल्लेख गरेको छ ।
यसैबीच एफएनसीसीआई र सीआईआईका बीच नेपालका बाढी प्रभावित क्षेत्रको राहत, पुनःस्थापना तथा स्थानीय आर्थिक गतिविधि पुनरुत्थानमा सहकार्य गर्ने सम्बन्धमा भएको समझदारीलाई पनि महासंघले सकारात्मक कदमका रूपमा लिएको लिएको छ। बाढी प्रभावित समुदायको तत्कालीन स्वास्थ्य तथा सरसफाइसम्बन्धी आवश्यकता पूरा गर्न तथा जीविकोपार्जन र स्थानीय आर्थिक गतिविधि पुनःस्थापना गर्न संयुक्त रूपमा सञ्चालन सो समझदारी अनुसार दुवै संस्थाले सो क्षेत्रमा आर्थिक पुनरुत्थानका कार्यक्रम गर्ने महासंघले जनाएको छ।




About Us
प्रतिक्रिया