काठमाडौं – भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ। नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको वार्ताअघि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। त्यस क्रममा दुवै प्रधानमन्त्रीले अंकमाल गर्दै आत्मीयता साटासाट गरेका थिए। द्विपक्षीय वार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए।
त्यसैगरी, भारतका तर्फबाट विदेशमन्त्री डा. एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय डा. पीके मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा अतिरिक्त सचिव मनु महावरलगायत सहभागी थिए।
वार्तामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, व्यापार, ऊर्जा, कनेक्टिभिटी तथा आपसी हितका विभिन्न विषयमा छलफल हुने कार्यसूची थियो। तर, प्रधानमन्त्रीद्वयबीच भएका छलफल र सहमतिका विस्तृत विषय तथा निर्णयहरू सार्वजनिक भइसकेका छैनन्। द्विपक्षीय वार्तापछि प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्मको रेल सेवा तथा भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्मको मोटरेबल पुललगायत परियोजनाको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ।
त्यसक्रममा दुई देशबीच विभिन्न समझदारीपत्र तथा सम्झौतापत्र आदानप्रदान हुने र संयुक्त प्रेस वक्तव्य जारी गरिने कार्यक्रम रहेको छ। भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्। त्यसपछि प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ। दुईदिने औपचारिक भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्कने कार्यक्रम छ। उनी अपराह्न ४ः५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्ने र साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने तालिका छ।





About Us
प्रतिक्रिया