एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको हटलाइन नम्बर १२४७


काठमाडौं – साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी गुनासो तथा उजुरीको सम्बोधनका लागि प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोमा २४ सै घण्टा सञ्चालन हुने गरी विभिन्न सरोकारवाला निकायहरु सम्मिलित एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको छ । नेपाल राष्ट्र बैंकले केन्द्रको १२४७ हटलाइन नम्बरमा सम्पर्क गरी साइबर स्क्याम सम्बन्धी घटनाहरुको उजुरी गर्न सकिने बताएको हो ।

अनलाइन ठगी, फिसिङ, नक्कली लिंक, अनधिकृत कारोबार वा डिजिटल भुक्तानीसम्बन्धी ठगीमा परेमा तत्काल १२४७ मा सम्पर्क गरी जानकारी वा उजुरी गर्ने र उक्त नम्बरबाट प्राप्त भएको जानकारी बमोजिमको प्रकृया अवलम्बन गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

ठगी भएको अवस्थामा आफ्नो बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई खाता तथा डिजिटल वालेट सुरक्षित गर्न आवश्यक पहल गर्ने बताएको छ । साइबर तथा डिजिटल वित्तीय ठगीविरुद्ध सचेत बन्न राष्ट्र बैंकले आग्रह गरेको छ । ठगीमा परेमा तत्काल १२४७ मा सम्पर्क गर्न पनि केन्द्रीय बैंकले जनाएको छ ।