चाडपर्वमा हुने अनलाइन ठगीबाट सतर्क रहन एभरेष्ट बैंकको आग्रह


काठमाडौं – एभरेष्ट बैंकले चाडपर्वमा हुने अनलाइन तथा डिजिटल माध्यमबाट हुने ठगीबाट सचेत रहन आग्रह गरेको छ। बैंकले एक सूचना जारी गर्दै अनलाइन तथा डिजिटल माध्यमबाट हुने ठगीका घटना बढ्न सक्ने बताएको हो ।

बैंकले चिठ्ठा परेको, नगद पुरस्कार जितेको, उपहार प्राप्त भएको वा अप्रत्याशित रूपमा ठूलो रकम पाउने भन्दै आउने शंकास्पद सन्देशप्रति सतर्क रहन अनुरोध गरेको हो। ‘तपाईंले ५ लाख रुपैयाँ नगद पुरस्कार जित्नुभएको छ’ भन्दै अपरिचित वेबसाइटको लिंक पठाउने र पुरस्कार प्राप्त गर्न बैंक खाता तथा व्यक्तिगत विवरण भर्न लगाउने गरेको बैंकले जनाएको छ । यस्ता प्रलोभनमा परी आर्थिक तथा व्यक्तिगत विवरण गुमाउन सकिने भएकाले बैंकले केही सावधानी अपनाउन सुझाव दिएको छ।

बैंकले ग्राहकलाई कुनै पनि अपरिचित लिंकमा क्लिक गर्नुअघि त्यसको विश्वसनीयता जाँच गर्न र शंकास्पद गतिविधि देखिएमा तत्काल बैंकको आधिकारिक ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न पनि सुझाव दिएको छ। चाडपर्वको खुसीसँगै आफ्नो आर्थिक तथा डिजिटल सुरक्षालाई पनि प्राथमिकता दिन बैंकले आग्रह गरेको छ।

Skip This