काठमाडौं। तिहारको समयमा भारतबाट फूल आयातमा कडाई गरिएको छ। भारतबाट चोरेर तथा लुकाएर ल्याइने फूल बरामद तथा नष्ट गर्न सरकार कडाईका साथ लागेको हो।
गृहमन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को तिहारको पूर्वसन्ध्यामा भारतबाट लुकाएर ल्याइएका फूल सातै प्रदेशबाट ९२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध फूलमाला बरामद तथा नष्ट गरिएको छ। सशस्त्र प्रहरी बल, नेपालबाट प्राप्त विवरणअनुसार कात्तिक २२ गते दिउँसो १२ बजेसम्म देशका विभिन्न सीमा क्षेत्रबाट अनुमानित ९२ लाख ७४ हजार ३८० रुपैयाँ बराबरका अवैध फूलमाला बरामद गरिएको हो। बरामद गरिएका फूलमाला प्रचलित कानुनअनुसार नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी फूलमाला कोशी प्रदेशबाट बरामद गरिएको छ। कोशी प्रदेशबाट मात्रै ८० लाख ५५ हजार ३०० रुपैयाँ बराबरका फूलमाला बरामद गरिएको छ।
त्यस्तै, मधेश प्रदेशबाट ९ लाख ९८ हजार ३३० रुपैयाँ, लुम्बिनी प्रदेशबाट २ लाख ९४ हजार ७५० रुपैयाँ र सुदूरपश्चिम प्रदेशबाट १० हजार रुपैयाँ बराबरका फूलमाला बरामद गरिएको विवरणमा उल्लेख छ। बागमती, गण्डकी र कर्णाली प्रदेशबाट भने फूलमाला बरामद भएको छैन।
गृहमन्त्रालयको तथ्यांकअनुसार साउनमा १० हजार रुपैयाँ, भदौमा २ लाख २ हजार ४० रुपैयाँ, असोजमा १ लाख ५२ हजार ७५० रुपैयाँ र कात्तिकमा ८९ लाख ११ हजार ३८० रुपैयाँ बराबरका फूलमाला बरामद तथा गरिएको छ।
विशेषगरी तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा भित्र्याइने फूलमालाको नियन्त्रणका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको छ। अवैध रूपमा भन्सार छली आयात गरिएका फूलमाला बरामद गरी नष्ट गर्ने कार्यलाई सशस्त्र प्रहरीले निरन्तरता दिएको छ।
सरकारले भारतबाट फूलको आयात रोकेर स्वदेशी उत्पादनलाई प्राथमिक्ता दिएको छ।






About Us
प्रतिक्रिया