‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित


काठमाडौं – तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित भएको छ। तन्त्रचर्चा परिवारद्वारा प्रकाशित उक्त ग्रन्थ शनिबार मध्यपुर थिमि क्वालखुस्थित श्रीबालकुमारी मन्दिरमा अर्पण गरिएको हो।

१७ अध्याय र २०५८ श्लोक समेटिएको ग्रन्थको अनुवाद प्रचलित नेपाल लिपिमा संरक्षित मूल संस्कृत पाठका आधारमा गरिएको हो। नेपाल लिपिमा उपलब्ध संस्कृत भाषाको तान्त्रिक वाङ्मयलाई नेपाली भाषामा प्रस्तुत गर्ने यस कार्यले प्राचीन ज्ञानपरम्पराको अध्ययन, अनुसन्धान र प्राज्ञिक विमर्शलाई सहज बनाउने अपेक्षा गरिएको छ।

तान्त्रिक आगम परम्पराको महत्त्वपूर्ण ग्रन्थ मानिने ‘कुलार्णवतन्त्र’मा तन्त्रदर्शन, साधना तथा परम्परागत ज्ञानसम्बन्धी विषय समेटिएका छन् । यसको नेपाली अनुवादले संस्कृत तथा नेपाल लिपिमा सीमित रहेको तान्त्रिक साहित्यलाई नेपाली भाषाका पाठक, अध्येता र अनुसन्धानकर्ताको पहुँचमा पुर्‍याउन सहयोग गर्ने विश्वास गरिएको छ।

ग्रन्थ अर्पण कार्यक्रममा तन्त्रविद् महेश्वरजुजु राजोपाध्याय, पूर्वकुमारी चनिरा वज्राचार्य, तन्त्रविद् प्रा. डा. रत्न शम्शेर ज.ब.रा. लगायत विद्वान् तथा धार्मिक–सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Skip This