काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ र महिला उद्यमी महासंघ नेपालको सहकार्यमा महिला उद्यमीहरूको नेतृत्व क्षमता तथा व्यक्तिगत विकास अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार काठमाडौंमा नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न भएको छ। ‘आफूभित्रैबाट नेतृत्व : उद्देश्य, शक्ति र व्यक्तिगत पहिचान’ विषयमा केन्द्रित उक्त कार्यशालामा आत्मचेतना, व्यक्तिगत क्षमता पहिचान, उद्देश्यअनुरूप नेतृत्व विकास तथा व्यावसायिक जीवनमा सकारात्मक प्रभाव सिर्जना गर्ने विषयमा जोड दिइएको थियो।
कार्यशालाको सहजीकरण जर्मनीको बर्लिनस्थित किक रोड कनेक्ट जीएमबीएचका बोर्ड सदस्य तथा एनईसी लः एन्ड इकोनोमिक कोअपरेसन युरोप एसियाकी प्रबन्ध निर्देशक कुन्दुज काचिएभाले गर्नुभएको थियो। कार्यशाला सञ्चालनकै लागि उहाँ जर्मनीबाट नेपाल आएका थिए।कार्यशालामा सहभागी महिला उद्यमीहरूलाई व्यक्तिगत उद्देश्य पहिचान, आफ्ना क्षमता र सम्भावनाको अधिकतम उपयोग तथा आत्मविश्वासका साथ नेतृत्व गर्ने विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। साथै, व्यक्तिगत अनुभव, सोच र दृष्टिकोणले नेतृत्व शैली, निर्णय प्रक्रिया तथा व्यावसायिक सम्बन्धमा पार्ने प्रभावबारे समेत छलफल गरिएको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले उद्यमशीलताको सफलताका लागि व्यावसायिक तथा प्राविधिक ज्ञानसँगै आत्मविश्वास, प्रभावकारी सञ्चार, निर्णय क्षमता र नेतृत्व सीप पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए। उनले महिला उद्यमीहरूको व्यक्तिगत तथा व्यावसायिक क्षमता विकासमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्।
सो अवसरमा महासंघका द्वितीय उपाध्यक्ष बसन्ती प्रधान तथा प्रथम उपाध्यक्ष सुनिता वैद्यले कार्यशालाको उद्देश्य तथा विषयवस्तुबारे जानकारी गराएका थिए। उनीहरूले महिला उद्यमीहरूको नेतृत्व क्षमता अभिवृद्धि तथा व्यावसायिक विकासका लागि महासंघले विभिन्न क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताए। कार्यशालाले महिला उद्यमीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, व्यक्तिगत प्रभावकारिता तथा व्यावसायिक सम्बन्ध विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।







About Us
प्रतिक्रिया