ठमेलको शान्ति सुरक्षा र पर्यटकमैत्री वातावरण निर्माणका लागि अन्तरक्रिया हुने


काठमाडौं – ठमेलको समग्र शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन तथा पर्यटकमैत्री वातावरण निर्माणका विषयमा छलफल गर्न बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ। ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आगामी कात्तिक २० गते दिउँसो २ बजे ठमेलस्थित होटेल यात्रीमा ठमेलको शान्ति सुरक्षा र पर्यटकमैत्री वातावरणबारे अन्तर्क्रिया गर्न लागिएको हो।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डंगोलले ठमेलभित्रको शान्ति सुरक्षालाई मजबुत बनाउनका लागि प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको बताए। अध्यक्ष डंगोलले उक्त अन्तर्क्रियामा सहभागी हुन ठमेलभित्रका घरधनी तथा व्यवसायीलाई आग्रह गरेका छन्।

उक्त अन्तर्क्रियामा जिल्ला प्रहरी प्रमुख, ट्राफिक प्रहरी महाशाखा प्रमुख, काठमाडौं महानगरपालिकाका प्रशासनिक प्रमुख, महानगर प्रहरी प्रमुख, पर्यटक प्रहरी प्रमुख तथा स्थानीय सरकारका प्रतिनिधिहरूको विशेष आतिथ्यता रहने परिषद्ले जनाएको छ। परिषद्का महासचिव पशुपति कँडेलले अन्तरक्रियामा ठमेल क्षेत्रको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, पर्यटकमैत्री वातावरण निर्माण, स्थानीय व्यवसायी तथा घरधनीका समस्या र तिनको समाधानका उपायबारे छलफल गरिने जानकारी दिए।

ठमेलको सुरक्षा, सुव्यवस्था र दिगो विकासका लागि साझा धारणा निर्माण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा विभिन्न सङ्घसंस्था, क्लब, व्यवसायी, घरधनी, बुद्धिजीवी, समाजसेवी तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।