डोल्पा कारागारबाट सुरुङ खनेर भागेका थप दुई कैदी पक्राउ, चार जना अझै फरार


डोल्पा-डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका थप दुई जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ। यससँगै कारागारबाट फरार भएका आठ जनामध्ये चार जना प्रहरीको नियन्त्रणमा आएका छन्। गत कात्तिक १४ गते बिहान ६ बजे कारागारबाट फरार भएका कैदीहरूको खोजतलास गर्ने क्रममा प्रहरीले बुधबार बिहान त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँबाट उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीको कमान्डमा खटिएको नौ सदस्यीय प्रहरी टोलीले स्थानीय कमला बुढाको घरमा लुकिछिपी बसिरहेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कपिल परियार (कैलाश) र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाया रहेका छन्।

परियार चोरीसम्बन्धी मुद्दामा तीन वर्ष कैद सजाय पाएका व्यक्ति हुन् भने रोकाया जबर्जस्ती करणीसम्बन्धी मुद्दामा आठ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन्। यसअघि प्रहरीले फरार भएका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम रानालाई पक्राउ गरेको थियो। कारागारबाट सुरुङ खनेर फरार भएका आठ जनामध्ये चार जना पक्राउ परिसकेका छन् भने बाँकी चार जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।