सात स्थानबाट ६४ जना जुवाडे पक्राउ १६ लाख ७० हजार बरामद 


काठमाडौं – देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६४ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट १६ लाख ७५ हजार ३१५ रुपैयाँ नगद, कौडा र तास बरामद गरेको छ। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–४ मा डेरा गरी बस्ने नुवाकोटकी ४१ वर्षीया प्रतिभा तिमिल्सेनाको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रतिभासहित २१ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको टोलीले उनीहरूलाई मंगलबार राति १२ लाख २९ हजार ६०० रुपैयाँ, ३३ थान कौडा र १७ बुक ताससहित पक्राउ गरेको हो।

त्यस्तै, चितवनको खैरहनी नगरपालिका–८ पानीटंकी चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–६ का ५९ वर्षीय लक्ष्मण खरेलसहित ८ जना पक्राउ परेका छन्। मंगलबार दिउँसो पक्राउ परेका उनीहरूको साथबाट ७७ हजार ९९५ रुपैयाँ र १० बुक तास बरामद भएको छ। चितवनकै भरतपुर महानगरपालिका–१६ नवीन चोकबाट सोही ठाउँका २८ वर्षीय सुरज गुरुङसहित ५ जना पक्राउ परेका छन्।

मंगलबार दिउँसो पक्राउ परेका उनीहरूको साथबाट ३३ हजार ९९० रुपैयाँ र २ बुक तास बरामद भएको प्रहरीले जनाएको छ। बागलुङ नगरपालिका–२ हल्लनचोकस्थित अमर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा घरधनी ६४ वर्षीय खड्कासहित ९ जना पक्राउ परेका छन्। मंगलबार दिउँसो पक्राउ परेका उनीहरूको साथबाट १ लाख ६४ हजार ९२५ रुपैयाँ र ४३८ पत्ति तास बरामद भएको छ।

यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बाट ६७ वर्षीय हरिदत्त पाण्डेयसहित ६ जना पक्राउ परेका छन्। मंगलबार साँझ पक्राउ परेका उनीहरूको साथबाट ३० हजार ६४० रुपैयाँ र ३ बुक तास बरामद भएको छ। तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित तामाङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालक ४३ वर्षीय बलबहादुर गुरुङसहित ५ जना पक्राउ परेका छन्। मंगलबार राति पक्राउ परेका उनीहरूको साथबाट २० हजार ४१५ रुपैयाँ र १ बुक तास बरामद भएको छ।

त्यस्तै, रोल्पाको रुन्टीगढी गाउँपालिका–७ होलेरी हाटबजारस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालक ५० वर्षीय दिलबहादुर खड्कासहित १० जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई गएराति १ लाख १७ हजार ७५० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।