काठमाडौं – जुवातास खेलिरहेको अवस्थामा देशभरबाट ३७ जना पक्राउ परेका छन्। प्रहरीले सुनसरी, भक्तपुर, कैलाली र अछामबाट ३७ जनालाई पक्राउ गरेको हो। सुनसरीको इटहरी उपमहानगरपालिका– ४ शान्ति चोकस्थित द स्टंन होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ३७ वर्षीय मोहन घिमिरे समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका वडा प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ५६ हजार १ सय ८० रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो। भक्तपुरको चाँगुनारायण नगरपालिका– ४ हलचाप बस्ने ५४ वर्षीय ध्रुव श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ध्रुव समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९० हजार ७० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।
कैलालीको धनगढी उपमहानगरपालिका– ६ मटियारी बस्ने ४५ वर्षीय हरि दयाल रानाको घरमा जुवातास खेलिरहेको अवस्थामा हरि समत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ५ रुपैयाँ सहित पक्राउ गरेको हो।
अछामको मंगलसेन नगरपालिका–५ मंगलसेन बजार बस्ने ४८ वर्षीय नृप बहादुर बिष्टको घरमा जुवातास खेलिरहेको अवस्थामा नृप बहादुर समेत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ५ सय २५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।







About Us
प्रतिक्रिया