लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट प्रहरी हिरासतमा


काठमाडौं – लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ परेका छन् । प्रहरीले उनलाई शनिवार राती ललितपुरबाट नियन्त्रणमा लिएको हो । उनी व्यवसायी दीपक भट्टका दाइ हुन् ।

प्रहरीले इनम सापकोटासँग सम्पर्क गरेको भेटेपछि भट्टलाई थप अनुसन्धान गर्न नियन्त्रणमा लिएको जानकारी दिएको छ । दीपक भट्ट यति बेला सम्पत्ति सुद्ध करणसँग सम्बन्धित मुद्दामा कारागारमा छन् । कारागारबाट निस्कन चलखेल गरेको पाइएपछि उनलाई सिन्धुपाल्चोक सारिएको छ ।

साथै, यही मुद्दामा पूर्व प्रधानन्यायाधीश चोलेन्द्र जबरालाई समेत प्रहरीले अनुसन्धान गरिसकेको छ । व्यवसायी भट्टलाई जेलबाट छुटाउनका लागि चलखेल गरिरहेका झापाका ३० वर्षीय इनम सापकोटाको सक्रियता र उनीसँग सम्पर्कमा रहेकाहरूलाई प्रहरीले धमाधम पक्राउ तथा थप अनुसन्धान गर्दै छ ।