प्रहरी सेवामा सहज पहुँचका लागि डिजिटल प्रणाली विस्तार आवश्यक छः महानिरीक्षक कार्की


काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनलाई प्रविधिमैत्री, व्यावसायिक, सक्षम र नागरिकमैत्री बनाउँदै बदलिँदो सुरक्षा चुनौतीको प्रभावकारी सामना गर्नुपर्नेमा जोड दिएका छन्। ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली अर्पण तथा विशेष समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले अमर प्रहरीका परिवारजन तथा सन्ततिप्रति सम्मान व्यक्त गर्दै उनीहरूको शिक्षा, भविष्य र कल्याणका लागि नेपाल प्रहरीले अभिभावकीय दायित्व निर्वाह गर्ने प्रतिबद्धता जनाए।

महानिरीक्षक कार्कीका अनुसार नेपाल प्रहरीको सात दशकभन्दा लामो यात्रामा १७ हजार ९८ जना वीर प्रहरी कर्मचारीले राष्ट्र र नागरिकको सुरक्षाका लागि जीवन बलिदान गरेका छन्। कर्तव्यपालनका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले अवकाशप्राप्त प्रहरी कर्मचारीको योगदानको समेत उच्च कदर गरे।

सम्बोधनका क्रममा कार्कीले बाढी, जोखिमपूर्ण भूगोल, क्षतिग्रस्त सडक तथा पुल, सञ्चार अवरोध र प्रतिकूल मौसमकाबीच नेपाल प्रहरीले अन्य सुरक्षा निकायसँग समन्वय गरी खोज तथा उद्धार, सुरक्षा व्यवस्थापन, सूचना संकलन र मानवीय सहायतामा निरन्तर काम गरिरहेको बताए। उनका अनुसार विपद्का क्रममा २८ जना प्रहरी कर्मचारी प्रत्यक्ष प्रभावित भएका छन्। तीमध्ये तीन जनाले राष्ट्र सेवाका क्रममा ज्यान गुमाएका छन् भने २५ जना घाइते भएका छन्। नागरिकको जीवन रक्षाका लागि अग्रपङ्क्तिमा खटिएका प्रहरी कर्मचारीको साहस, अनुशासन र सेवा भाव सङ्गठनले सधैँ सम्मानका साथ स्मरण गर्ने उनले बताए।

विपद्मा ज्यान गुमाएका तथा प्रभावित प्रहरी कर्मचारीका परिवारको पीडा नेपाल प्रहरीको साझा पीडा भएको उल्लेख गर्दै कार्कीले उनीहरूको सम्मान, कल्याण र सन्ततिको भविष्य सुरक्षाका लागि सङ्गठन प्रतिबद्ध रहेको बताए। प्रहरी महानिरीक्षक कार्कीले गत वर्ष क्षतिग्रस्त भएका ४५९ प्रहरी कार्यालयमध्ये ४५३ वटाको पुनर्निर्माण तथा सञ्चालन सम्पन्न भएको जानकारी दिए। बाँकी कार्यालयको पुनर्निर्माण कार्य जारी रहेको उल्लेख गर्दै उनले प्रहरी कार्यालय पुनः स्थापनामा सहयोग गर्ने स्थानीय समुदाय, उद्योगी–व्यवसायी, विभिन्न सङ्घसंस्था, पूर्व प्रहरी कर्मचारी तथा सहयोगी सबैप्रति कृतज्ञता व्यक्त गरे।

उनले प्रहरी दिवसलाई विगतको समीक्षा गर्ने अवसर मात्र नभई आगामी कार्यदिशा तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए। यसै अवसरमा विमोचित ‘पुलिस मिरर २०२६’ ले नेपाल प्रहरीको इतिहास, सेवा, बलिदान र संस्थागत रूपान्तरणलाई अभिलेखबद्ध गर्दै विगतका अनुभवलाई भविष्यको प्रहरी सेवासँग जोड्ने विश्वास उनले व्यक्त गरे।

बदलिँदो सामाजिक, आर्थिक, राजनीतिक तथा प्राविधिक परिवेशसँगै सुरक्षा चुनौती पनि जटिल बन्दै गएको उल्लेख गर्दै कार्कीले नेपाल प्रहरीलाई आधुनिक प्रविधिले सुसज्जित र प्रभावकारी सङ्गठनका रूपमा विकास गर्नु प्राथमिकता रहेको बताए। प्रहरी सेवामा नागरिकको पहुँच सहज बनाउन वित्तीय ठगीसम्बन्धी अनलाइन उजुरी, नागरिक गुनासो, प्रहरी चारित्रिक प्रमाणपत्र, ट्राफिक उल्लंघन, हराएका सवारीसाधन तथा कागजात, प्रहरी भर्ना तथा तालिम, अपराध अभिलेख र दैनिक घटना प्रतिवेदनलगायतका डिजिटल प्रणाली विकास गरिएको उनले उल्लेख गरे।

त्यसैगरी कृत्रिम बुद्धिमत्ता तथा उन्नत विश्लेषण प्रणाली, हवाई निगरानी तथा सहयोग इकाइ, ड्रोन तथा एन्टी–ड्रोन इकाइ, एकीकृत एन्टी–स्क्याम सेन्टर र सामाजिक सञ्जाल अनुगमन सेल स्थापना गरी प्रहरी सेवालाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रयास भइरहेको उनले बताए।रणनीतिक योजनामार्फत आगामी कार्य योजनासमेत अघि बढाइएको उल्लेख गर्दै कार्कीले प्रविधिको उपयोगबाट अपराध अनुसन्धान, सुरक्षा व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको बताए।

नेपाल प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्दै भविष्यमा नेपाल प्रहरी मेडिकल कलेज स्थापना गर्ने लक्ष्यसमेत अघि सारिएको महानिरीक्षक कार्कीले बताए। यसबाट प्रहरी कर्मचारी, प्रहरी परिवार तथा सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन, स्वास्थ्य अनुसन्धान र विपद् तथा आपत्कालीन स्वास्थ्य सेवामा उत्कृष्टता हासिल गर्ने अपेक्षा गरिएको उनले उल्लेख गरे। १३ कमान्डमा आधारित अनुशासित सङ्गठनका रूपमा नेपाल प्रहरीमा प्रभावकारी कार्यसम्पादन, संस्थागत प्रगति र अनुशासन कायम राख्न स्थापित आदेश तथा नियन्त्रण प्रणाली र कमान्ड शृङ्खलाको पालना अनिवार्य रहेको कार्कीले बताए।