अनलाइन ठगी नियन्त्रण गर्न एकीकृत केन्द्र स्थापना गरिने छ: प्रधानमन्त्री शाह 


काठमाडौं –  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले अनलाइन ठगी नियन्त्रण गर्न एकीकृत ठगी नियन्त्रण केन्द्र स्थापना गर्ने तथा नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी भइरहेको बताएका छन्। नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले प्रहरीको क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग र पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्। उनको सन्देश प्रहरी महानिरीक्षक कार्कीले कार्यक्रममा वाचन गरेका थिए।

प्रधानमन्त्री शाहका अनुसार अनलाइन ठगीका घटना नियन्त्रण गर्न तथा नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्न नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक र डिजिटल वालेट सञ्चालकलाई समेटेर एकीकृत ठगी नियन्त्रण केन्द्र (इन्टिग्रेटेड एन्टी–स्क्याम सेन्टर) स्थापना गर्ने तयारी भइरहेको छ। त्यस्तै, साइबर तथा वित्तीय अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने, कृत्रिम बौद्धिकता (एआई) र आधुनिक सुरक्षा प्रणालीको प्रयोग बढाउने तथा प्रहरी संगठनलाई प्रविधिमैत्री बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको उनले उल्लेख गरेका छन्। प्रहरीको कार्यक्षमता विस्तारका लागि हवाई सुरक्षा तथा सहयोगसम्बन्धी कार्यमा एएएसएसयू स्थापना गर्ने तयारी भइरहेको पनि प्रधानमन्त्री शाहले बताएका छन्। विपद् व्यवस्थापनमा प्रहरीको भूमिका थप प्रभावकारी बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र आवश्यक पूर्वाधार विकासमा जोड दिइने उनको सन्देशमा उल्लेख छ।

प्रधानमन्त्री शाहले पछिल्लो समय बाढी तथा अन्य विपद्का घटनामा नेपाल प्रहरीले निर्वाह गरेको उद्धार र मानवीय सहायताको भूमिकाको प्रशंसा गरेका छन्। संकटका बेला राष्ट्रसेवकको क्षमता, समर्पण र प्रतिबद्धताको वास्तविक परीक्षा हुने उल्लेख गर्दै उनले नागरिकको सुरक्षा र सार्वजनिक सेवा प्रवाहमा प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। उनले राष्ट्रको सेवा गर्ने क्रममा हालैका बाढी तथा अन्य विपद्मा ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सेवाका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रहरी संगठनको स्थापना कालदेखि यसको विकास र सुदृढीकरणमा योगदान पुर्‍याउने पूर्व तथा वर्तमान प्रहरी कर्मचारीप्रति आभार व्यक्त गरेका छन्। विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार निर्माणमा सहयोग गर्ने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय विकास साझेदारलाई धन्यवाद दिँदै प्रधानमन्त्री शाहले नागरिकको सुरक्षा, अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा नेपाल प्रहरीलाई अझ सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।