नेपाल क्लियरिङ्ग हाउसको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं – नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को आफ्नो पन्ध्रौँ वार्षिक साधारण सभा  सम्पन्न गरेको छ। बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

यस पश्चात् एनसीएचएलको चुत्ता पुँजी एक अर्ब सतसट्ठी करोड बहत्तर लाख अठासी हजार दुई सय रूपैयाँ बराबरको हुनेछ। कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट प्रणालीहरु, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणालीहरु, डीपीआइका लागि थप पूर्वाधारहरु, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतीका लागि प्रयोग गरिनेछ।  

आ.व. २०८२/८३ मा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल २१० खर्ब बराबरको २३.८२ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो। उक्त आर्थिक वर्षमा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या र रकमको आधारमा १३ प्रतिशत ले वृद्धि भए सँगै कम्पनीको सञ्चालन आमदानी ७ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको खुद नाफा ने.रु ४१ करोड रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशतले कम हो। 

उक्त वार्षिक साधारण सभाबाट एनसीएचएलले बैंकिङ्ग/वित्तीय तथा भुक्तानी सम्बन्धी प्रविधिमा अनुसन्धान लगायत प्रविधि र सफ्टवेयरको विकास, जडान एवम् सो संग सम्बन्धित आवश्यक कार्य समेत गर्ने उद्देश्य सहित कम्पनीको सहायक वा सम्बद्ध कम्पनीको रुपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी स्थापना गर्न आवश्यक स्वीकृति तथा प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ। वित्तीय क्षेत्रको लागि आवश्यक प्रविधि तथा सफ्टवेयरको विकास र जडान गर्ने उद्देश्य सहित उक्त कम्पनीले काम गर्नेछ। 

एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट १ जना, वाणिज्य बैंकहरूबाट ३ जना, विकास बैंकहरू र वित्त कम्पनीहरूबाट क्रमशः १–१ जना प्रतिनिधि रहेका छन् भने १ जना स्वतन्त्र सञ्चालक रहेका छन्। एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरूको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ।

कम्पनीले विद्युतीय चेक क्लियरिङ प्रणाली (एनसीएचएल–ईसीसी), अन्तरबैंक भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस), विद्युतीय रकम स्थानान्तरण कार्ड स्विच, राष्ट्रिय भुक्तानी स्विच (एनपीएस) अन्तर्गत राष्ट्रिय चेक स्विच (एनपीएस–एनसीएस), खुद्रा भुक्तानी स्विच (आरपीएस), राष्ट्रिय भुक्तानी अन्तरआबद्धता (एनपीआई) तथा राष्ट्रिय भुक्तानी अन्तरविनिमय (एनपीआईएक्स) लगायतका प्रणालीहरू सञ्चालन गर्दै आएको छ। त्यसैगरी, कम्पनीले कनेक्टआईपीएस, कर्पोरेटपे, कनेक्टआरटीजीएस, नेपालपे क्यूआर र नेपालपे कार्डलगायत विभिन्न भुक्तानीका माध्यमहरू समेत सञ्चालन गर्दै आएको छ। एनसीएचएलमा हाल नेपाल राष्ट्र बैंकसमेत गरी ५३ वटा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र १५० भन्दा बढी गैरबैंकिङ संस्थाहरू अप्रत्यक्ष सदस्य तथा प्राविधिक सदस्यका रूपमा आबद्ध रहेका छन्।