काठमाडौं -अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछिको पुनरुत्थान, जलवायु उत्थानशील पुनर्निर्माण तथा नेपालको दीर्घकालीन आर्थिक प्राथमिकता अघि बढाउन सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन्।
थाइल्यान्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन पुगेका अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्दाबीच बिहीबार भेटवार्ता भएको हो।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणका लागि आवश्यक स्रोत परिचालनमा सहयोग गर्न एडीबीका अध्यक्ष कान्दासँग आग्रह गरेका थिए। उनले नेपालको दीर्घकालीन आर्थिक प्राथमिकता कार्यान्वयनमा समेत बैंकको सहयोग आवश्यक रहेको बताएका थिए।
विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग पुर्याउन आपत्कालीन अनुदान शीघ्र स्वीकृत गरेको तथा ऐक्यबद्धता व्यक्त गरेकोमा अर्थमन्त्री वाग्लेले एडीबीप्रति नेपाल सरकारका तर्फबाट कृतज्ञता व्यक्त गरेका थिए। भेटमा एडीबीका अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य गर्नु बैंकको उच्च प्राथमिकतामा रहेको बताएका थिए। भेटवार्तामा अर्थसचिव डा. घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए।







About Us
प्रतिक्रिया