काठमाडौं – सरकारी कर्मचारी भएको भन्दै विभिन्न कृषि कार्यक्रमको प्रलोभन देखाएर ११ लाख ५४ हजार रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका–५, बलापुरका २४ वर्षीय नवीन यादव र नेपालगन्ज उपमहानगरपालिका–११ निवासी ३९ वर्षीय कासीराम बुढाथोकी रहेका छन्।
प्राप्त जाहेरीअनुसार दाङको गढवा गाउँपालिका–२, पचहियाका ६० वर्षीय सहजराम अहिरसहित पाँच जनालाई लक्षित गरी ठगी गरिएको हो। यादवले आफ्नो नाम अरविन्द कुमार यादव बताउँदै आफू कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेश, तुलसीपुर शाखा कार्यालयको प्रशासनिक अधिकृत भएको दाबी गरेका थिए।
उनले मकै जोन कृषि कार्यक्रममार्फत ट्र्याक्टर वितरण, भैँसीपालन तथा गोठ सुधारका कार्यक्रम ल्याएको भन्दै पीडितलाई प्रलोभनमा पारेको आरोप छ। बुढाथोकी मालिका साइबर फोन पे तथा मालिका कम्युनिकेसनका ई–सेवा सञ्चालक रहेको जनाइएको छ। उनीहरूलाई पक्राउ गरी दाङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया