काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख सुमन प्रसाद तिवारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्ति लिएको र बढुवा भएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको छ।
आयोगका अनुसार तिवारीले खोप सुपरभाइजर, राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति लिन भारतको बिहार मध्यवर्ती शिक्षा परिषद्, पटनाबाट जारी भएको आइए तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। अनुसन्धानका क्रममा उनले उक्त प्रमाणपत्र प्रयोग गरी नियुक्ति लिएको र माथिल्लो तहका विभिन्न पद तथा श्रेणीमा बढुवा हुन पटक–पटक सोही प्रमाणपत्र पेस गरेको देखिएको आयोगले जनाएको छ। यसरी उनले राष्ट्रसेवकको पद, ओहदा, लाभ तथा सुविधासमेत प्राप्त गरेको आयोगको आरोप छ।
तिवारी हाल स्वास्थ्य निर्देशनालय, धनकुटाअन्तर्गत खोप अधिकृतका रूपमा कार्यरत रही जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङको निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा रहेको आयोगले जनाएको छ। आयोगले उनलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कारबाहीको माग गरेको छ।
आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबीसहित आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको हो।






About Us
प्रतिक्रिया