उपमहानगर र नगरपालिकाको शाखा मर्जका लागि बैंकहरुलाई पूर्व स्वीकृति नचाहिने


काठमाडौं – अबदेखि बैंकहरुको उपमहानगर र नगरपालिकाको शाखा मर्जका लागि पूर्व स्वीकृति नचाहिने भएको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको कारोबार बढिरहेको तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा वित्तीय संस्था स्वयमले उपमहानगरपालिका तथा नगरपालिकाभित्र रहेका आफ्ना शाखाहरु बन्द गर्न पाउने नीति लिएको हो ।

वित्तीय संस्थाले शहरी तथा शहरोन्मुख क्षेत्रमा रहेको शाखा समायोजन/एकीकरण गर्न सक्नेछन् भने शाखा समसमायोजन/एकीकरण गर्दा एक किलोमिटरको दूरी भित्र सञ्चालनमा रहेको शाखाहरु मध्ये कम्तीमा कुनै एक शाखा कायम हुने गरी सोही दूरी भित्रका आफ्ना अन्य शाखा मात्र समायोजन/एकीकरण गर्न सक्नेछन् । साथै, समायोजन/एकीकरण गरी प्रत्येक चार वटा शाखाहरु बन्द गरेपश्चात् कुनै पनि बैंक तथा वित्तीय संस्थाको शाखा नरहेको ग्रामिण क्षेत्रको वडामा एउटा नयाँ शाखा खोल्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । यसरी खोलेको शाखाको विवरण राष्ट्र बैंकको बैक तथा वित्तीय संस्था नियमन विभाग तथा सम्बन्धित सुपरिवेक्षण विभागसमक्ष पेश गर्नुपर्नेछ ।

यता, बैंक तथा वित्तीय संस्थाले गाउँपालिका तथा ग्रामीण क्षेत्रमा रहेका शाखा वा कुनै पनि किसिमको कार्यालय बन्द गर्न, स्थानान्तरण गर्न वा गाभ्नुअघि राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ ।