काठमाडौं – काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट प्रहरीले २१ किलो ७५०.६८ ग्राम सुन बरामद गरेको छ। सुनको अवैध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा हान फेई, झोउ लङछिन र वाङ जियानझेन रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रवार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो।
प्रहरीका अनुसार चिनियाँ नागरिकहरूले भाडामा लिएको घरमा छापा मार्दा ठुलो परिमाणमा सुन बरामद भएको थियो। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घबाट परीक्षण तथा प्रमाणीकरण गरिएको उक्त सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा रहेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार नेपालमा भइरहेको सुनको अवैध कारोबारका लागि चीनबाटै निर्देशन आउने गरेको खुलेको छ। चीनको ग्वाङ्झाउमा बस्ने झेन जिया लेले वी च्याटमार्फत नेपालमा रहेका समूहका सदस्यलाई सुन प्रशोधन गर्ने, तयार पार्ने र तोकिएको स्थानमा पुर्याउने निर्देशन दिने गरेको प्रहरीको भनाइ छ।
पक्राउ परेका व्यक्तिहरूले भाडाको घरमा ल्याइने लेसिलो तथा अर्धप्रशोधित अवस्थाको सुनलाई प्रशोधन गरी तयार पार्ने र निर्देशनअनुसार निश्चित स्थानमा पुर्याउने गरेको अनुसन्धानबाट खुलेको जनाइएको छ। नेपालमा सुन कहाँ पुर्याउने र कसलाई बुझाउने भन्ने जानकारीसमेत वी च्याटमार्फत आउने गरेको प्रहरीले जनाएको छ।
मासिक ३ लाख ३० हजार रुपैयाँमा भाडाको घर
अनुसन्धानका क्रममा उक्त घर चिनियाँ नागरिक सु क्यानले मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी लिएको खुलेको छ। उनले चार महिनाका लागि अग्रिम रूपमा १३ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको प्रहरीको अनुसन्धानमा उल्लेख छ।







About Us
प्रतिक्रिया