बीमा कसुरमा शेखर गोल्छाले भने, ‘२३ करोड ९२ लाख भुक्तानीबारे जानकारी थिएन’


काठमाडौं – हिमालय रिइन्स्योरेन्सका तत्कालिन अध्यक्ष शेखर गोल्छाले एलियन्ट इन्स्योरेन्स ब्रोकर्सलाई हुँदै नभएको जीवन बीमा पुनर्बिमा कारोबारको कमिशन शीर्षकमा २३ करोड ९२ लाख भुक्तानी गरिएको विषयमा आफू जानकार नभएको दाबी गरेका छन्। काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रअनुसार उनले यस्तो दाबी गरेका हुन्। दैनिक प्रशासनिक कार्यमा हस्तक्षेप नगर्ने कुराको प्रत्याभूति गर्नु सञ्चालक समितिको कर्तव्य हुनेछ भन्ने समेतका कानुनी व्यबस्था बमोजिम यस विषय आफुलाई थाहा नभएको बताएका हुन्।

गोल्छाको बयानको सारसंक्षेप
एलियन्ट ईन्स्योरेन्स ब्रोकर्सलाई हुँदै नभएको जीवन बीमा पुनर्बिमा कारोबारको कमिशन शीर्षकमा २३ करोड ९२ लाख रूपैयाँ भुक्तानी गरिएको विषयमा मलाई जानकारी थिएन। बीमा ऐन, २०७९ को दफा ५३ मा दैनिक प्रशासनिक कार्यमा हस्तक्षेप नगर्ने कुराको प्रत्याभूति गर्नु सञ्चालक समितिको कर्तव्य हुनेछ भन्ने समेतका कानुनी व्यबस्था बमोजिम हिमालयन रिईन्स्योरेन्सको प्रशासनिक गतिविधिमा सञ्चालक समितिलाई थाहा हुने विषय होइन।

समग्र नीति तथा मापदण्ड तयार गर्ने र विभिन्न समिति मार्फत संस्थागत सुशासन कायम गर्ने विषय नै सञ्चालक समितिमा रहन्छ। उल्लेखित कारोबार भएको जानकारी मलाई छैन। उल्लेखित हिमालयन रिईन्स्योरेन्स, एलिएण्ट इन्स्योरेन्स ब्रोकर्स र उल्लेखित विभिन्न जीवन बीमा कम्पनीले गरेका कारोबारको सन्दर्भमा सम्पूर्ण जिम्मेवारी सीईओ तथा व्यवस्थापनको हो । म सो व्यवस्थापनमा संलग्न नरहेको जानकारी गराउँदछ भन्ने समेतको व्यहोरा।