धनगढीको एकतर्फी हवाई भाडा १० हजार ८ सय, बढी लिए कडा कदम चाल्ने बुद्ध एयरको तयारी 


काठमाडौं – बुद्ध एयर धनगढीको एकतर्फी हवाई भाडा १० हजार ८ सय मै उपलब्ध गराउँदै आएको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा भाडा बढी लिएको भनेर तीव्र आलोचना भएपछि कम्पनीले प्रेस विज्ञप्ति नै जारी गरेर यस्तो बताएको हो । 

 न्यूनतम भाडा दरमा टिकट उपलब्ध गराइएकै कारण अधिकांश दिनका उडानमा टिकट बिक्री भइसकेको कम्पनीले जनाएको छ । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण राजमार्गमा ठुलो क्षति पुगेपछि लामो समयसम्म सडक यातायात अवरुद्ध भएको थियो । उक्त विपद्को अवस्थामा यात्रुहरूलाई सहज र किफायती हवाई सेवा उपलब्ध गराउने उद्देश्यले बुद्ध एयरले बाटोघाटो सहज नहुन्जेल तथा चाडपर्व दसैँ र तिहारसम्म न्यूनतम भाडा दरमा टिकट उपलब्ध गराउने घोषणा गरी सोहीअनुसार कार्यान्वयन गर्दै आएको जनाएको छ।

बुद्ध एयरले आफ्नो आधिकारिक प्रणाली तथा बिक्री माध्यमबाट कायम गरिएको भाडादर बाहेक कुनै व्यक्ति, ट्राभल एजेन्सी वा अन्य माध्यमबाट अनधिकृत रूपमा बढी मूल्यमा टिकट बिक्री गरेको पाइएमा त्यस्ता कार्यप्रति कडा आपत्ति जनाउँदै प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही अघि बढाउने स्पष्ट पारेको छ।

कम्पनीले यात्रुहरूलाई आधिकारिक बिक्री माध्यम तथा कम्पनीको वेबसाइट एवं मोबाइल एपबाट आधिकारिक सूचना स्रोतबाट मात्र भाडा दर तथा टिकटसम्बन्धी जानकारी लिन अनुरोध गरेको छ ।