बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित चिनियाँ नागरिक सुओलाङ पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्राहरूसहित चिनियाँ नागरिक ७२ वर्षीय सुओलाङलाई प्रहरीले पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले क्याथे प्यासिफिक एयरद्वारा काठमाडौंबाट हङकङतर्फ जान लागेका उनको साथबाट नेपाली रूपैयाँ ११ लाख ८६ हजार, चिनियाँ युआन ५२ हजार १ सय ९०, अमेरिकी डलर ५ हजार ९ सय ६५, युरो २ हजार ६०, अष्ट्रेलियन डलर ५० र हङकङ डलर ४९ हजार ५ सय ९० फेला पारी पक्राउ गरेको हो। 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।