१ लाख घुस रकमसहित पक्राउ परेका नापी सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, बर्दिवास, महोत्तरीका सर्भेक्षक शिवकुमार साहविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। साहले जग्गाको अंशबण्डाअनुसार नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने कार्यमा सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस मागेको अख्तियारले जनाएको छ। 

अख्तियारका अनुसार सेवाग्राहीबाट घुस मागेको सूचना तथा उजुरी प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले साहलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा साहले जग्गाको अंशबण्डाअनुसार नक्सा ट्रायल चेक गरी त्यसका आधारमा नक्सा संशोधन गरिदिने कार्यमा आलटाल गर्दै सेवाग्राहीसँग घुस मागेर एक लाख रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

अख्तियारले साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको भन्दै एक लाख रुपैयाँ बिगो कायम गरेको छ। आयोगले उनीमाथि सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय तथा दफा ३ को उपदफा (१) बमोजिम बिगो बराबर जरिवाना सजाय हुन मागदाबी गरी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।