प्रभु बैंकका सीईओ अशोक शेरचन तीन बैंकिङ्ग कसुरमा पुर्पक्षका लागि थुनामा

'प्रभु मनी ट्रान्सफर प्रकरणमा डेढ कराेड धराैटी माग'


कामाडौं – पाटन उच्च अदालतले प्रभु बैंकको कर्जा अपचलनका चार वटा बैंकिङ्ग कसुरका घटनाहरुमध्ये तीन वटामा पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ। न्यायधीशद्वय गणेश प्रसाद बराल र राजु कुमार खतिवडाको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

अदालतले प्रभु बैंकबाट इस्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटरनरी साइन्स नामक कृत्रिम व्यवसायबाट कर्जा दुरुपयोग, एशियन भिलेज रिसोर्टकाे नाममा भएको कर्जा दुरुपयोग र गुण एयरलाइन्सको नाममा कर्जा दुरुपयोग गरेको घटनामा उनलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ। 

यस्तै, प्रभु मनी ट्रान्सफर प्रालिले प्रभु बैंकलाई भुक्तानी दिनुपर्ने ब्याज नलिएको घटनामा भने शेरचनसँग १ करोड ५० लाख धरौटी माग गरिएको छ। यी मुद्दा पुर्पक्षको लागि प्रतिवादी अशोक शेरचनलाई कानून बमोजिमको मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राख्न कानून बमोजिमको थुनुवा पुर्जी दिई सम्बन्धित कारागारमा पठाइदिनू’ अदालतको आदेशमा भनिएको छ।