स्वास्थ्य बीमा कार्यक्रममा अब राष्ट्रिय परिचयपत्र अनिवार्य


काठमाडौं – स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रविधिमैत्री र प्रभावकारी बनाउने भएको छ । बोर्डको दोस्रो बैठकले स्वास्थ्य बीमा कार्यक्रमको डिजिटल सुधारसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको हो।

बैठकले आगामी पुष १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ। यस्तै, सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई एचआईबी ई–पोर्टलमार्फत आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय गरिएको छ।

राष्ट्रिय परिचयपत्रको प्रयोगले बीमितको पहिचान सुनिश्चित गर्नुका साथै दोहोरो आबद्धता नियन्त्रण, पहिचान प्रमाणीकरणलाई प्रभावकारी बनाउन र दाबी व्यवस्थापनलाई थप विश्वसनीय बनाउन सहयोग पुग्ने बोर्डको अपेक्षा छ। स्वास्थ्य बीमा बोर्डले यी निर्णयले स्वास्थ्य बीमा कार्यक्रम डिजिटल पहिचान, डिजिटल दाबी र रणनीतिक खरिद प्रणालीतर्फ अघि बढेको बताएको छ ।