सरकारी ठेक्का प्रणाली ह्याक प्रकरणमा थप ९ जना पक्राउ


काठमाडौं – सरकारी ठेक्का प्रणाली ह्याक प्रकरणमा थप ९ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसअघि गत चैतमा ठेकेदार तथा ह्याकरलाई पक्राउ गरी २२ जनाविरुद्ध मुद्दा चलाएको थियो। दोस्रो चरणको अनुसन्धानका क्रममा थप ठेकेदारहरू पक्राउ परेका हुन्।

अनुसन्धानका क्रममा ठेक्काको प्रस्ताव पेस गर्ने समय सकिएपछि प्रतिस्पर्धीहरूको आर्थिक प्रस्ताव हेर्ने र त्यसपछि आफ्नो प्रस्ताव संशोधन गरी ठेक्का हात पार्ने गरेको खुलेको छ। यसका लागि विदेशमा रहेका ह्याकरहरूको समेत प्रयोग गरिएको र उनीहरूलाई क्रिप्टो करेन्सीमार्फत रकम भुक्तानी गरिएको यसअघिको अनुसन्धानबाट खुलेको थियो।

प्रकरणमा सहरी विकास मन्त्रालयका कम्प्युटर अपरेटर दिवाकर देउजालाई मुख्य योजनाकारका रूपमा अनुसन्धान गरिएको छ। उनी हाल कारागारमा छन्। यसै प्रकरणको पहिलो चरणको अनुसन्धानपछि सीआईबीले पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेसहित १३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। तीमध्ये अधिकांश प्रतिवादी धरौटीमा रिहा भइसकेका छन्।