सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा:

दीपक भट्टलाई नख्खुबाट सिन्धुपाल्चोक कारागार किन सारियो ?

'भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण, बैंकिङ्ग तथा अन्य वित्तीय कसुरसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छन्'


काठमाडौं – सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टलाई ललितपुरस्थित नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको छ। कारागार व्यवस्थापन विभागको निर्णयअनुसार भट्टलाई शनिबार साँझ नख्खु कारागारबाट सिन्धुपाल्चोक पठाइएको हो। नख्खु कारागारका प्रमुख दीर्घराज उपाध्यायले विभागबाट प्राप्त पत्रका आधारमा भट्टलाई स्थानान्तरण गरिएको पुष्टि गरेका छन्।

भट्टको सरुवालाई पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएको पछिल्लो अनुसन्धानसँग पनि सम्बन्धित रूपमा हेरिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा जबरासँग निकट रहेको भनिएका इनम सापकोटासँग भट्टको सम्पर्क रहेको देखिएको बताइएको छ। सोही विषयमा प्रहरीले सापकोटालाई नियन्त्रणमा लिएर सोधपुछसमेत गरेको थियो।

प्रहरी स्रोतका अनुसार भट्ट र अर्का व्यवसायी सुलभ अग्रवालसँग सापकोटामार्फत जबराको सम्पर्क हुने गरेको विषयमा अनुसन्धान जारी छ। सापकोटासँगको सोधपुछका क्रममा जबरा, भट्ट र अग्रवालबीचको सम्बन्धबारे थप विवरण प्राप्त भएको प्रहरी स्रोतको दाबी छ। यद्यपि, भट्टलाई सिन्धुपाल्चोक कारागार सार्नुको आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन। कारागार प्रशासनले स्थानान्तरण नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत भएको जनाएको छ। प्रमुख उपाध्यायले विभागको निर्देशनअनुसार आवश्यक कागजात र अभिलेखसहित भट्टलाई सिन्धुपाल्चोक पठाइएको बताए।

कारागार व्यवस्थापन विभागका एक अधिकारीले भने भट्टको सरुवा सामान्य प्रकृतिको नदेखिएको संकेत गरेका छन्। उनका अनुसार नख्खु कारागारमै रहँदा उनले मुद्दाको प्रक्रियालाई प्रभावित पार्ने वा बाह्य सम्पर्क कायम राख्ने प्रयास गरेको सूचना उच्च तहसम्म पुगेको हुन सक्ने र त्यसकै आधारमा स्थानान्तरण गरिएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, कारागार प्रशासनको अभिलेखमा भट्टको आचरण ‘सामान्य’ रहेको उल्लेख छ। स्थानान्तरणसम्बन्धी पत्रमा पनि विभागको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरी सरुवा गरिएको जनाइएको छ। भट्ट यसअघि डिल्लीबजार कारागारमा रहेका थिए। त्यहाँबाट नख्खु सारिएका उनलाई केही समयमै पुनः सिन्धुपाल्चोक पठाइएपछि उनको कारागार सरुवालाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ।

भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण, बैंकिङ्ग तथा अन्य वित्तीय कसुरसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छन्। विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा पनि थुनामै राखेर मुद्दाको सुनुवाइ अघि बढाउने आदेश दिएको थियो। यसैबीच, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई असोज ११ गते सुरक्षा चुनौतीको कारण देखाउँदै प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि मुक्त गरेको थियो। त्यसयता जबरासँग सम्पर्कमा रहेका भनिएका व्यक्तिहरू तथा उनको सम्पर्क सञ्जालबारे प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। सोही अनुसन्धानका क्रममा भट्टसँग जोडिएका सम्पर्क र गतिविधिबारे समेत अध्ययन भइरहेको बताइएको छ।