काठमाडौं – अर्थमन्त्री स्वर्णिम वाग्लेले अमेरिकाका अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने भएका छन्। दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुगेका मन्त्री वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट (सेक्रेटरी अफ द ट्रेजरी) र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो।
भेटमा नेपालको आर्थिक साझेदारी र सहयोगलाई सुदृढ बनाउने विषयमा छलफल हुनेछ। द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट बहिर्गमन तथा बृहत् आर्थिक सुधारका विविध विषयमा पनि छलफल हुनेछ।
हालै भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिहरूसँग अर्थमन्त्री वाग्लेले कुरा गर्नेछन्।
साथै सडक, विद्युत् प्रसारण लाइन लगायतका महत्त्वपूर्ण पूर्वाधारमार्फत मुलुकभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्न विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने पहल भ्रमणको मुख्य उद्देश्य रहेको छ। भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले डीएफसीका उच्च पदस्थ अधिकारीका साथै निजी क्षेत्रका अग्रणी लगानीकर्ताहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।






About Us
प्रतिक्रिया