काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दीपा कार्कीसहित तीन जनाविरुद्ध घुस लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुखका रूपमा कार्यरत इन्जिनियर कार्कीले घर निर्माणसम्बन्धी काम स्वीकृत तथा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग पटक–पटक घुस मागेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा आयोगको टोलीले कार्की र रकम लिएर मध्यस्थको भूमिका निर्वाह गर्ने आस्मा कार्कीलाई सेवाग्राहीबाट ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा इन्जिनियर दीपा कार्कीले आफ्नो पद तथा ओहदाको दुरुपयोग गर्दै आस्मा कार्की र आशिष पौडेलसँगको मिलेमतोमा सेवाग्राहीको घर निर्माणसम्बन्धी विभिन्न काममा सहजीकरण गर्ने नाममा घुस लिएको आयोगले जनाएको छ। आयोगका अनुसार नक्सा पास, घर निर्माण सिफारिस, अस्थायी इजाजत, घर निर्माण सम्पन्नलगायत नगरपालिकाबाट हुने विभिन्न प्रक्रियामा सहजीकरण गरिदिने भन्दै कुल २ लाख ८ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको छ।
आयोगले दीपा कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर कायम गरी २ लाख ८ हजार रुपैयाँ बिगो कायम गरेको छ। साथै, सोही ऐनअनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरिएको छ। त्यस्तै, आस्मा कार्कीलाई मुख्य कसुरदारलाई सहयोग गर्ने मतियारका रूपमा आरोप लगाइएको छ। उनीविरुद्ध पनि २ लाख ८ हजार रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको आयोगले जनाएको छ। आशिष पौडेलविरुद्ध भने १ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरिएको छ। उनलाई पनि घुस लिने–दिने कार्यमा मतियारको भूमिका निर्वाह गरेको आरोप लगाउँदै मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको छ।






About Us
प्रतिक्रिया