प्रभु बैंकका सीईओ शर्मा स्वत: निलम्बन हुने


काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा स्वत: निलम्बन हुने भएका छन्। नेपाल राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १३३ ले दिएको अधिकार प्रयोग कम्पनीको संचालक समितिले नेपाल राष्ट्र बैंकको स्वीकृति लिई कर्मचारी सेवा विनियमावली तयार पारेको जनाएको थियो।

राष्ट्र बैंकले नै आफ्नो वेवसाइटमा प्रकाशन गरेको सो विनियमावलीको ८९ मा स्वतः निलम्बन हुनेसम्बन्धि व्यवस्था छ। जसमा फौजदारी अभियोगमा मुद्दा दायर गरेमा निज स्वतः निलम्बनमा परेको मानिने उल्लेख छ। ‘नैतिक पतन देखिने फौजदारी अभियोगमा थुनामा परेमा त्यसरी थुनामा रहेको अवधिभर तथा राज्यको कुनै निकायले कुनै कर्मचारी विरुद्व प्रचलित नेपाल कानून बमोजिम फौजदारी अभियोगमा मुद्दा दायर गरेमा निज स्वतः निलम्बनमा परेको मानिने छ।’

सो विनियमावलीमा निलम्बनमा रहेको कर्मचारीले सफाई वा सजाय पाएपछि निलम्बन स्वतः समाप्त हुने उल्लेख छ। यस्तै, निलम्बनमा राखिएको कुनै कर्मचारी निर्दाेष प्रमाणित भएमा निज निलम्बनमा रहेको अवधिमा निजले साविक बमोजिम पाउने पुरा पारिश्रमिक पाउने छ र निजको निलम्बन अवधिलाई अटुटसेवा अवधिमा गणना गरिने बताइएको छ।