किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए


काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलपछि किसान सूचीकरण अभियानले गति लिएको छ। पछिल्लो समय करिब ३ लाख किसान किसान सूचीकरण प्रणालीमा थपिएका छन्। मन्त्रालयका अनुसार हालसम्म देशभर २६ लाख ७९ हजार किसान किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका छन्। किसानको वास्तविक पहिचान सुनिश्चित गर्दै कृषि क्षेत्रका कार्यक्रमलाई तथ्याङ्कमा आधारित बनाउन सूचीकरणलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।

मन्त्री चौधरीले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै आएपछि सूचीकरणको संख्या बढेको मन्त्रालयको भनाइ छ। मन्त्रालयले मातहतका सबै कार्यालय, निकाय तथा आयोजनालाई कृषि कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित लाभग्राही किसानको किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ।

किसान सूचीकरणमार्फत वास्तविक किसानको पहिचान, तथ्याङ्कमा आधारित कृषि योजना निर्माण तथा राज्यबाट उपलब्ध हुने सेवा–सुविधामा पारदर्शिता र सुशासन कायम गर्ने उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।

सरकारी कृषि कार्यक्रमअन्तर्गत प्रदान गरिने अनुदान, मल वितरणलगायतका कृषि सेवामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्न सूचीकरण प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले आगामी दिनमा किसान सूचीकरणलाई कृषि सेवा तथा सुविधासँग थप व्यवस्थित रूपमा जोड्दै प्रणालीलाई प्रभावकारी बनाउने जनाएको छ।