पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन


लमजुङ – निरन्तरको वर्षापछि आज बिहान पहिरो गएर अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड पुनः सञ्चालनमा आएको छ। यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका-६ मा सडक माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसेपछि बिहानदेखि आवागमन अवरुद्ध हुँदा सवारीसाधन अलपत्र परेका थिए।

यता बिहानैदेखि अवरुद्ध डुम्रे-बेँसीसहर सडक खण्डअन्तर्गत तनहुँको भानु नगरपालिका-१ मा खसेको पहिरो हटाएपछि सडक अहिले पूर्ण रूपमा सञ्चालनमा आएको बेँसीसहर-चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले बताए।

सडकमा ढुङ्गा माटोसहितको पहिरो खसेर अवरुद्ध भएको उक्त सडक खण्डबाट पहिरो हटाएपछि अहिले कुनै अवरोध नरहेको र सवारी साधन सञ्चालन भइरहेको उनले जानकारी दिए।

बेँसीसहर-चामे सडकखण्डका विभिन्न स्थानमा भने पहिरो गएकाले सडक अवरुद्ध कायमै छ। सूचना अधिकारी विष्टका अनुसार धेरै ठाउँमा पहिरो गएकाले सडक खुलाउन समय लाग्ने देखिन्छ।