काठमाडौं – प्रहरीले चोरीका १४ थान हाते ट्याक्टर (पावर टिलर) सहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरका राजु मचामसी, राजेश मचामसी र राजन मचामसी, रौतहटका राजेश्वर जैसवाल तथा काभ्रेका बिपिनकुमार शाही रहेका छन्।
प्रहरीका अनुसार काठमाडौंको स्वयम्भू क्षेत्रमा विभिन्न मिति र समयमा हाते ट्याक्टर चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भूबाट टोली परिचालन गरिएको थियो। खोजतलास तथा अनुसन्धानका क्रममा प्रहरीले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बाट चोरीका ट्याक्टरसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट चोरी भएका १४ थान ट्याक्टर तथा बा ३१ प २१५९ नम्बरको मोटरसाइकल बरामद गरेको जनाएको छ। उनीहरूमाथि चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया