आईपीओ निष्कासन गर्ने तयारीमा अमुदी फुड्स


काठमाडौं – अमुदी फुड्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सार्वजनिक शेयर निष्कासन (आईपीओ) मार्फत सर्वसाधारणलाई कम्पनीको यात्रामा सहभागी गराउने भएको हो।

कम्पनीको प्रस्तावित पूँजी संरचनाअनुसार कुल जारी पूँजी ४२ करोड रुपैयाँ हुनेछ। त्यसमा प्रवर्द्धक समूहको ३२ करोड रुपैयाँ र सर्वसाधारणका लागि १० करोड रुपैयाँ बराबरको शेयर रहने प्रस्ताव गरिएको छ।

आईपीओ निष्कासन प्रक्रियाका लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई इश्यू म्यानेजर नियुक्त गरिसकेको छ। यस्तै, क्रेडिट रेटिङका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडसँग सम्झौता भएको कम्पनीले जनाएको छ। अन्डरराइटर नियुक्ति, प्रोसपेक्टस तयारी तथा कम्पनी रजिस्ट्रारको कार्यालयसँग सम्बन्धित आवश्यक प्रक्रियाहरू अघि बढिरहेको बताइएको छ।

कम्पनीको योजनाअनुसार मंसिर २०८३ मा नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिने र जेठ २०८४ सम्ममा आईपीओ स्वीकृति प्राप्त गर्ने अपेक्षा गरिएको छ। यी समयसीमा कम्पनीले आफ्नो हालको योजनाअनुसार सार्वजनिक गरेको लक्ष्य हुन्।

आईपीओ तथा अन्य स्रोतबाट जुट्ने पूँजी उत्पादन क्षमता विस्तारमा परिचालन गर्ने कम्पनीको योजना छ। विशेषगरी समर्पित नुडल्स उत्पादन प्लान्ट स्थापना, उत्पादन क्षमता वृद्धि र नयाँ उत्पादन थप गर्न पूँजी उपयोग गरिने जनाइएको छ।

अमुदी फुड्सले उत्पादन र पूँजी विस्तारसँगै गुणस्तरीय तथा स्वच्छ खाद्य उत्पादनमार्फत उपभोक्ताको विश्वास कायम गर्ने दीर्घकालीन लक्ष्य लिएको छ। कम्पनीले आफूलाई नेपालकै विश्वसनीय तथा नवीन खाद्य ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्यसमेत अघि सारेको छ।