चार थान चोरीको स्कुटर र मोटरसाइकलसहित तेन्जिङ तामाङ पक्राउ


काठमाडौं – चार थान चोरीको स्कुटर र मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– ६ घर भई काठमाडौंको काठमाडौं महानगरपालिका– ६ नयाँ बस्ती बस्ने तेन्जिङ तामाङ रहेका छन्। 

काठमाडौं महानगरपालिका– ६ स्थित नयाँ बस्ती क्षेत्रमा चोरीको स्कुटर तथा मोटरसाइकल चलाउने गरेको छ भन्ने सूचनाको आधारमा प्रहरी बिट नयाँ बस्तीबाट खटिएको प्रहरीको टोलीले उनलाई  पक्राउ गरेको हो। 

चोरीका मोटरसाइकल तथा स्कुटर लुकाई छिपाई राखेको अवस्थामा तामाङलाई फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनलाई चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।