काठमाडौं – प्रहरी हुँ भन्दै डर, त्रास तथा धाक–धम्की देखाएर रकम असुल गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–२, बसुन्डोलका रोशन सुर्खेती र संन्जय बिसुंखे रहेका छन्।
प्रहरीका अनुसार उनीहरू चन्द्रागिरि नगरपालिका–७, थानकोटस्थित एक स्वास्थ्य क्लिनिकमा प्रवेश गरी आफूहरू सादा पोसाकमा खटिएका प्रहरी भएको र मेडिकल पसलहरूको अनुगमन गर्न आएको बताएका थिए। त्यस क्रममा उनीहरूले डर, त्रास तथा धाक–धम्की दिई औषधि पसलको काउन्टरमा औषधि बिक्रीबाट जम्मा भएको नगद रकम लिएर फरार भएको आरोप छ।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनामाथि आपराधिक लाभ (एक्सटर्सन) ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको छ।






About Us
प्रतिक्रिया