बैंकहरुको मुद्धती निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण


काठामाडौं – नेपाल बीमा प्राधिकरणले वाणिज्य बैंक तथा विकास बैंकहरुको मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले बैंक मौज्दात लगानी नीति अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । प्राधिकरणले लगानी गर्ने रकम भने खुलाएको छैन ।

प्राधिकरणले इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी तपसिलको विवरणहरु खुल्ने गरी ७ दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको छ । साथै, सिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्ने जनाएको छ।

यसका लागी बैंकहरुले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्सानको अवस्था, बैंकको निष्कृय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात र पूँजी पर्याप्तता कोषको विवरण खुल्ने कागजात पेस गर्नुपर्नेछ ।