काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सांस्कृतिक संस्थानबीच कर्मचारीका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा बिहीबार आयोजित एक कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार राष्ट्रिय वाणिज्य बैंकले सांस्कृतिक संस्थानका कर्मचारीका लागि तलबी बचत खाता तथा ‘पेशाकर्मी सरल कर्जा’ सञ्चालन गर्नेछ। साथै, कर्मचारीलाई सहुलियत दरमा विभिन्न बैंकिङ्ग सेवा तथा सुविधासमेत उपलब्ध गराइने बैंकले जनाएको छ। सम्झौताबाट सांस्कृतिक संस्थानका कर्मचारी लाभान्वित हुनुका साथै बैंकको व्यवसाय विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
समझदारीपत्र हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय विनय रमण पौडेल र पवन रेग्मी, उपकार्यकारी अधिकृतहरू दुर्गा कुमारी कंडेल (छत्कुली), रामकुमार थापा र निम्बल श्रेष्ठ, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख ध्रुवप्रसाद अर्याललगायतको उपस्थिति थियो।
त्यस्तै, सांस्कृतिक संस्थानका प्रशासनिक अधिकृत शुदर्शन थापा, लेखा अधिकृत प्रेमध्वज जी.सी. लगायत कर्मचारी पनि कार्यक्रममा सहभागी थिए। वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल सातवटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसमेत समेट्ने गरी ३१६ शाखा कार्यालय र ३३८ एटीएम टर्मिनलमार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले निक्षेप तथा कर्जाका अतिरिक्त एटीएम, मोबाइल बैंकिङ्गलगायत आधुनिक डिजिटल बैंकिङ सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ।






About Us
प्रतिक्रिया