पुँजी बजारले बचतलाई लगानीमा रूपान्तरण गर्न सकेन : प्रिय राज रेग्मी


काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको क्यापिटल मार्केट कमिटीका अध्यक्ष तथा क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजका अध्यक्ष प्रिय राज रेग्मीले पुँजी बजारले बचतलाई लगानीमा रूपान्तरण गर्दै उत्पादकत्व र आर्थिक समृद्धि बढाउने गरी अपेक्षित भूमिका निर्वाह गर्न नसकेको बताएका छन्।

बैंकिङ्ग समाचारको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६ को पहिलो सत्र ‘प्रडक्ट, पोलिसी एन्ड रेगुलेशन : द फ्यूचर अफ नेपाल्स क्यापिटल मार्केट’ मा बोल्दै रेग्मीले पुँजी बजारको ध्यान मुख्यतः नेप्से परिसूचक बढ्ने वा घट्ने विषयमा मात्रै केन्द्रित भएको बताए।

उनका अनुसार पुँजी बजारमार्फत बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन गरी उत्पादकत्व बढाउने र त्यसलाई आर्थिक समृद्धिसँग जोड्ने प्रभावकारी प्रणाली विकास हुन सकेको छैन। रेग्मीले उद्योगी–व्यवसायीले पनि आफ्नो आवश्यकता अनुसार पुँजी बजारका वित्तीय उपकरणको माग गर्न नसकेको बताए। साथै, बजारको विकासका लागि आवश्यक नीतिगत सहजीकरण हुन नसक्दा पुँजी बजारले अपेक्षित रूपमा काम गर्न नसकेको उनको भनाइ छ।