काठमाडौं – प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले भदौ १७ गतेदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय गरेको छ।
सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा आज बसेको समितिको बैठकले प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार भदौ १७ गते बस्ने प्रतिनिधि सभाको बैठकमा २०८३ भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे राजनीतिक दलहरूले आ–आफ्नो धारणा राख्नेछन्।
त्यसपछि बाढीबाट भएको क्षतिसम्बन्धी विशेष प्रस्ताव सदनबाट पारित गरिनेछ। विशेष प्रस्ताव पारित गरेपछि प्रतिनिधि सभाका बैठकहरू कार्यभारअनुसार क्रमशः सञ्चालन गरिने समितिले जनाएको छ।
बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिको विषयलाई प्राथमिकताका साथ सदनमा उठाउने तयारी गरिएको हो।






About Us
प्रतिक्रिया