काठमाडौं – भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २८ लाख २० हजार २४९ रुपैयाँ सहयोग गरेको छ।
संस्थाका अध्यक्ष राजकुमार राई, प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेल, सहायक कार्यकारी प्रमुख ऋषि प्रसाद न्यौपाने, वरिष्ठ प्रबन्धक रघुनाथ सुवेदी तथा कम्पनी सचिव एवं जनशक्ति व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।
रकम हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष राजकुमार राईले लघुवित्त संस्थाहरू भुइँमान्छेको घर–घरमा पुगेर सेवा तथा वित्तीय पहुँच विस्तारमा काम गर्ने भएकाले संकटको समयमा पनि समाज र समुदायसँगै उभिनुपर्ने बताए। विपद्को समयमा सबै पक्षले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग तथा सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले नेरूडे मिर्मिरे मानवीय हितका कार्यमा सदैव सकारात्मक र सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले ‘ग्राहक सदस्य पहिलो’ भन्ने मूल नीतिलाई आत्मसात् गर्दै संस्था वित्तीय कारोबारमा मात्र सीमित नरही वित्तीय साक्षरता, संस्थागत सामाजिक उत्तरदायित्व तथा ग्राहक संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी र बृहत्तर रूपमा विस्तार गरिने उनले बताए।
संस्थाका सञ्चालक, कर्मचारी परिवार तथा संस्थाको तर्फबाट गरिएको सामूहिक योगदानबाट उक्त सहयोग रकम जुटाइएको हो। नेरूडे मिर्मिरेले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ता व्यक्तिहरूको यथाशीघ्र खोजी तथा उद्धार सफल होस् भन्ने कामनासमेत गरेको छ।
संस्थाले विपद्को यस कठिन घडीमा भाइचारा, आत्मीयता, सहकार्य र मानवीय संवेदनाका साथ सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिएको छ। आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व, ग्राहक संरक्षण तथा समुदायप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै वित्तीय सेवासँगै सामाजिक हितका कार्यक्रमलाई थप प्रभावकारी बनाउने संस्थाले जनाएको छ।






About Us
प्रतिक्रिया