काठमाडौं – नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दा नक्कली बैंक खाता वा क्युआर प्रयोग गरेर हुने ठगीबाट बच्न आग्रह गरेको छ । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना नै जारी गरेर यस्तो आग्रह गरेको हो । राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली क्युआर कोड तथा नक्कली बैंक खाता विवरण प्रयोग गरी अनधिकृत रूपमा रकम संकलन तथा ठगी भइरहेका घटनाहरू भएको सार्वजनिक भएकोले यस्ता कार्य प्रति सचेत रहन भनेको छ ।
विपद्को यस घडीमा उक्त कोषमा आफूले योगदान गर्न चाहेको रकम पठाउनुअघि विभिन्न विषयहरूमा विशेष ध्यान दिन राष्ट्र बैंकले अनुरोध गरेको छ । केन्द्रीय बैंकले मोबाइल बैंकिङ्ग, वालेट, कनेक्ट आईपीएस वा कुनै पनि माध्यमबाट रकम ट्रान्सफर गर्दा खाताको नाम ‘प्राइम मिनिस्टर डिजास्टर राहत कोष’ रहेको यकिन गर्नुपर्ने बताएको छ । आफूले योगदान गर्न चाहेको रकम प्रविष्टि गर्दा ध्यान दिने र सो को पुनः यकिन गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रीय बैंकको वेबसाइटमा वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयको वेबसाइटमा उल्लेखित आधिकारिक बैंक खाता विवरण मात्र प्रयोग गर्ने, सामाजिक सञ्जाल, ईमेल तथा म्यासेजिङ एपमा फैलिएका अनधिकृत क्युआर कोड स्क्यान नगर्ने, सहयोग रकम पठाउन सहयोग गर्ने बहानामा कसैले मागेमा ओटिपि, पिन र पासवर्ड जस्ता संवेदनशील व्यक्तिगत विवरण कसैलाई नदिन भनेको छ ।
यस्तै, आधिकारिक एप्लिकेशनको प्रयोग गर्न र आफु ठगीमा परेको लागेमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्था, नेपाल प्रहरीको साइबर ब्युरो वा केन्द्रीय बैंकको वित्तीय ग्राहक संरक्षण इकाईमा जानकारी गराउन भनेको छ ।






About Us
प्रतिक्रिया