बाढीले बगाएको बैंकको भल्ट फोडेर लाखौं रुपैयाँ चोरी गरेको आरोपमा २९ जना पक्राउ


काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएको नगद रकम रहेको बैंकको भल्ट तोडफोड गरी लाखौं रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट प्रहरीले ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले उक्त नगद रकम रहेको सेफ बगाएर ल्याएको थियो। बाढीले बगाएको सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशुली नदी किनारमा फेला परेको थियो।

प्रहरीका अनुसार स्थानीय मानिसहरूले नदी किनारमा भेटिएको उक्त सेफ तोडफोड गरी भित्र रहेको नगद रकम निकालेका थिए। घटनाबारे शुक्रबार जानकारी प्राप्त भएपछि प्रहरी टोली तत्काल परिचालन गरी अनुसन्धान सुरु गरिएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न भएको आशंकामा २९ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

पक्राउ पर्नेहरूमध्ये अधिकांश धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ र ६ का स्थानीय बासिन्दा रहेका छन्। यसबाहेक सिद्धलेक गाउँपालिका तथा चितवन र पर्सा घर भई हाल गल्छीको आदमघाट क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरू पनि पक्राउ परेका छन्।
यस घटनामा थप अनुसन्धान भइरहेको जनाएको छ।