काठमाडौं – एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि भोलि शनिबारबाट लागु हुने गरी थप सात दिन बढाएको छ । यससँगै अब प्रभावित क्षेत्रमा थप एक हप्ता कम्पनीका यी सेवाहरु निःशुल्क उपलब्ध हुनेछन् ।
यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो र सोही अनुसार सेवा दिदै आएको थियो । तीन दिने अवधि आज समाप्त हुँदैछ ।
विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा उद्धार र राहत वितरणका पहललाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ । प्रभावित समुदायका सर्बसाधारणलाई परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीसँग सम्पर्कमा रहन सजिलो बनाउँदै कम्पनीले उक्त निःशुल्क सेवा अवधि थप गरेको जनाएको छ ।
‘हाम्रो यो योगदानले प्रभावित समुदायलाई यो विपद्का बेलामा आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने विश्वास लिएका छौं। यस कठिन समयमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु हामी सबैको जिम्मेवारी हो,’ एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने ।
१८ वटा टावर पुनःसंचालनमा
एनसेलले विपद्का समयमा सञ्चार सेवा निरन्तर कायम राख्न तथा आपतकालीन खोज, उद्धार र राहतका कार्यमा सहयोग पु¥याउँदै आएको छ। कम्पनीले बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका आफ्ना १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको छ भने अन्य ९ प्रभावित टावरहरूको पुनःसंचालनको लागि कार्यसमेत गरिरहेको छ।
यसैगरी, एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा योगदान पु¥याउने उद्देश्यले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत रु। १ करोड सहयोग गरेको थियो। यसका साथै, एनसेलले बाढी प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षित रहन सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्दै एसएमएस तथा आफ्ना सामाजिक सञ्जालका पेज तथा अकाउन्टहरूमार्फत आवश्यक सूचना सम्प्रेषण गर्दै आएको छ ।






About Us
प्रतिक्रिया