नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८ सय अंकको बिन्दुबाट घटेर २६ सय अंकभन्दा तलसम्म आइसकेको छ। देशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थिर सरकार, बैंकमा लगानीयोग्य रकमको पर्याप्तता, न्यून बैंक ब्याजदर हुँदा पनि बजारमा उत्साह आउन सकेको छैन। यता सरकारले नीति निर्माणमा जोड दिइरहँदा र प्रधानमन्त्री तथा अर्थमन्त्रीले निरन्तर भेटघाटमा लागिरहँदा पनि बजारले सकारात्मक सङ्केत देखाएको छैन। यही र यिनै विषयमा बैंकिङ्ग समाचारले नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालसँग गरेकाे कुराकानीको सम्पादित अंश:–
यति बेला शेयर बजारमा शिथिलता छ। जसकारण, धेरैजसो लगानीकर्ताहरू मानसिक तनाव लिएर बसेका छन्। तपाईँको विचारमा चाहिँ यो समय मानसिक तनाव लिने समय हो ?
म कुनै पनि काम गर्दा सामान्यता मानसिक तनाव नै लिन्न। किनकि, मानसिक तनाव बजार घट्दा लगानीकर्ताले मानसिक तनाव लिन हुँदैन। मानसिक तनाव लिँदा आफूले गर्न लागेको काम गर्नै सकिँदैन। त्यसैले मानसिक तनाव नलिएरै शेयर कारोबार गर्ने गर्नुपर्छ। यो नै मेरो लगानीको मूल मन्त्र हो। मानिसले आफ्नो लगानी घट्दा बढ्दा सोच्ने त हुन्छ नै । कहिले खुसी पनि होलान् कहिले दुखी पनि हुन्छ। तर, म चाही धेरै लामो समयसम्म उतार चढाव हुँदा पनि तनाव लिन्न।
यो पुँजी बजार २०५६ सालदेखि लागि रहँदा निरन्तर रूपमा यही पुँजी बजारमा लागेको हिसाबले गर्दा मलाई खासै त्यस्तो ठुलो प्रभाव पर्दैन। किनकि मैले जुन किसिमको लगानी गरेको छु, जुन किसिमको ‘पोर्टफोलियो’ मसँग छ त्यसले गर्दा म कहिले पनि तनाव लिनुपर्ने स्थिती छैन। म यो कुराले कहिले पनि निरुत्साहित हुन्न। आफूले लगानी गरेको कम्पनीहरूको सधैँ एकै किसिमको रिटर्न हुन्छ भन्ने पनि छैन। समय तथा अवस्थाले तलमाथि हुन्छ। हुन सक्छ नयाँ नयाँ साथीहरू जो भर्खरै शेयर बजारमा आउनु भएको छ, उहाँहरूलाई तनाव हुन पनि सक्छ। तर, लगानीकर्ताले तनाव लिएर हुँदैन।

अहिलेको घटबढका कारण भर्खरै बजार पसेर तनाव लिइराख्नु भएका लगानीकर्तालाई के भन्न चाहनुहुन्छ ?
यसमा विशेष गरी पहिलो त पुँजी बजारमा लगानी गर्ने भनेको आफूले राम्रोसँग कम्पनीको अध्ययन गरेर बुझेर गर्ने हो। अध्ययन गरेर लगानी गरेपछि यस खालको तनाव हुँदैन भन्ने मलाई लाग्छ। पुँजी बजारमा सधैँभरी नाफा मात्रै हुन्छ भन्ने हुँदैन। यो क्षेत्रमा कहिले नाफा त कहिले घाटा हुन्छ नै। तथापि नाफा घटबढ भइरहने अवस्थामा पनि हामिले कम्पनी छान्न सक्नुपर्यो। राम्रो स्टकहरूमा लगानी गरियो भने छोटो अवधिमा ‘क्यापिटल गेन’ नभए पनि लाभांश आउँछ। तर,बजारमा पछिल्लो समय धेरै लगानीकर्ता भित्रिएका छन्। कति लगानीकर्ताहरूले बुझेर लगानी गरेका होलान् वा कति लगानीकर्ताले नबुझी लगानी गरेका होलान्। नबुझी लगानी गरेका लगानीकर्ताको हकमा अवश्य पनि पिडा छ। त्यसले गर्दा पुँजी बजारमा लगानी गर्नुभन्दा पहिला सोच विचार गर्दै अध्ययन गरेर लगानी गर्नुपर्छ।
जसले बजारमा नबुझेरै वा बुझेरै लगानी गरे पनि अहिले बजार २६ सय अंकको बिन्दुमा छ। यस्तो अवस्थामा २८ सय वा ३०० हजार अंकमा हुँदा लगानी गरेकाले कसरी व्यवस्थापन गर्ने ?
यसका लागि लगानीकर्ताले आफ्नो पोर्टफोलियोको ३० देखि ४० प्रतिशतसम्म मात्रै ऋण लिनुपर्छ। यसले लगानीकर्ता लाई धेरै हदसम्म बचाउँछ। मेरो विचारमा यसलाई सबै लगानीकर्ताले मूल मन्त्रकारुपमा लिनुपर्छ। अझै सकिन्छ भने पोर्टफोलियोका ३० प्रतिशत मात्रै ऋण लिएर लगानी गर्दा उत्तम हुन्छ।
लगानीकर्ताले हौसिएर पोर्टफोलियोको ३० प्रतिशत वा ४० प्रतिशतभन्दा माथिसम्म लगानी गर्दा बजार घट्दा पनि तनाव हुँदैन। जुन बेला मार्केट ‘मुभ’ भइरहेको छ, त्यो बेलामा ३० प्रतिशतबाट ४० प्रतिशतसम्म पनि पुर्याउँदा हुन्छ। यसबाहेक हामी लगानीकर्ताहरु बजार घट्दा लगानी नै गर्दैनौँ। तर, बढ्न थाल्यो भने लगानी गर्न थाल्छौँ। बजार उच्च बिन्दुमा पुगेपछि लगानी गर्ने बानी हामीले बसालेका छौँ। यसले लगानीलाई पीडा दिन्छ। जबकि चलाख लगानीकर्ता उच्च बिन्दुमा पुगेको बेला बजारबाट निस्कन्छन्। कम्तीमा पनि हामीले बैंकमा तिर्ने कर्जाको ब्याज चाँहि बोनस र लाभांशबाटै ‘रिटर्न’ भयो भने तनाव नै लिनु पर्दैन । कम्पनीहरूको साधारण सभापछि लाभांश आउन थाल्छ, त्योबाट तपाईँले कभर गर्न सक्ने गरी लगानी गर्नुपर्छ। त्यो लाभांशले एक वर्षलाई व्यवस्थापन गर्नुपर्याे। तर, तपाईँको क्षमताभन्दा बढी लगानी गर्न थाल्नु भयो भने तपाईँको सम्पत्तिको ५०–६० प्रतिशत नै लोन लिन थाल्नु भयो भने दबाब आउँछ।
अहिलेको सरकार जुन चुनाव भयो दुई तिहाइको करिब करिब सरकार आयो त्यसपछि २८ सयको सेरोफेरोमा पुँजी बजार पुग्यो। त्यो बेलामा हामी लगानीकर्ताहरू झुक्किएकै हौँ। हामी किन झुक्यौ भने दुई तिहाइको बहुमतको सरकार विगतमा बनेको थिएन। तर, अहिले रास्वपा नेतृत्वको सरकार छ, जसले नीतिहरु पनि सोहीअनुसार बनाउँछ भनेर झुक्किएका हौँ। बहुमतको सरकार आउन साथ ५ वर्षको सरकारले पाँच वर्षलाई योजनाहरू बनाउँछ भन्ने हामीलाई लाग्यो। यही समयमा बैंकको ब्याजदर न्यून बिन्दुमा छ र पनि बजारले नकारात्मक रेस्पोन्स गरेकै हो।

भनेपछि रास्वपा सरकार आएपछि लगानीकर्ता झुक्किएका हुन् ?
रास्वपा सरकारलाई बजारले रेस्पोन्स चाहिँ गरेको हो। एकदमै रेस्पोन्स गरेर साढे २६ सयको इन्डेक्स २८ सय माथि पुगेको हो। तर, पछिल्लो समयमा लगानीकर्ताहरूमा ‘कन्फिडेन्स’चाहिँ अहिलेको सरकारले दिन सकेन कि भन्ने हो। नीतिहरू बनेका छन्। अहिलेको सरकारले पनि हामीलाई साँच्चै भनौँ भने विगतमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत हामीलाई प्रहारै गरेको थियो।
त्यो हामी इतिहासमा कहिले बिर्सिन सक्दैनौँ। तर, त्यो पनि अहिले परिमार्जन हुँदै पूर्ण रूपमा खुला भइसकेको छ र नीति सहज रूपले बनिसकेका छन्। तर, पनि पुँजी बजार बढ्न सकेन। बैंकमा ८२ खर्ब ४४ अर्ब डिपोजिट छ। त्यसकै सन्दर्भमा ल्यान्डिङ हेर्नुहुन्छ भने ५९ खर्ब ३६ अर्ब मात्रै लगानी छ। सिडी रेसियोसम्म हामीले लगानी गर्न पाइन्थ्यो भने आजको दिनमा १.४२ मात्रै छ। अब भनेपछि हामीसँग करिब १५ खर्ब लगानी योग्य रकम छ। यो हुँदा पनि हामी पुँजी बजार बढ्न सकेको अवस्था छैन।
अब तपाई त ठुला लगानीकर्ताहरूको सूचिमा पर्नुहुन्छ, इन्भेष्टर्स फोरमको अध्यक्ष पनि हुनुहुन्छ, तीन दशकको अनुभव पनि छ। बजार बढ्दा पनि घट्दा पनि लगानीकर्ताले कस्ता कम्पनी छान्नु पर्छ ?
सुरुमा त लगानीकर्ताले कम्पनी कस्ता समूहले सञ्चालन गरेको छ भनेर हेर्नुपर्छ। साथै, कम्पनीको ग्रोथ, भविष्यको योजनाहरू, लगानीकर्ताको विगतको इतिहास हेर्नुपर्छ। यी सबै अध्ययन गरेर उत्कृष्ट कम्पनीमा लगानी गरियो भने हरेक वर्ष प्रतिफल दिने कम्पनी पर्न सक्छ। जस कारण, लगानीकर्ताले प्रत्येक वर्ष दुख पाउँदैनन्।

धितोपत्र बोर्डबाट स्वीकृत लिएर स्टक एक्सचेन्जमा सूचिकृत भैसकेका कम्पनी छान्ने त हामीले नै हो। उसको काम एउटा स्तरमा पुर्याएर धितोपत्र बोर्डले स्वीकृति दियो, नेपाल स्टक एक्सचेन्ज नियम अनुसार भयो भनेपछि अब त्यो पछाडिका अनुगमन गर्ने काम धितोपत्र बोर्डको हो। त्यो भित्र पनि राम्रा राम्रा कम्पनी छानेर लगानी गर्ने अधिकार हाम्रो छ। हामीले सबै सूचिकृत भएको कम्पनीमा नै लगानी गर्नु पर्छ भन्ने छैन। त्यसले गर्दा हामी त्यो भित्र पनि छानेर कम्पनीमा लगानी गर्न सक्छौँ। त्यति भयो भने पुँजी बजारमा लगानी गरेर पश्चात्ताप हुँदैन। जस्तै, यूनिलिभर किन्ने मानिस अहिले कहाँ पुग्यो। जमानामा नबिल बैंकको १० कित्ता शेयर किन्ने मानिस अहिले कहाँ पुग्यो। हिजो चिलिमे किन्ने मानिस कहाँ पुगेको छ। यस्ता धेरै कम्पनीहरू छन् जसमा लगानी गरेर घाटा नहुने रहेछ भन्ने देखाउँछ। मुख्य कुरा के हो भने स्टक छान्न सक्नुपर्याे।
बैंकमा पर्याप्त पैसा छ, स्थिर सरकार छ। ब्याज न्यून छ। तर, यो बेलामा पनि शेयर बजार कता कता रुमलिएको देखिन्छ। किन दिन दिन नै घटिरहेको छ ? लगानीकर्ताले विश्वास गर्न नसकेको हो कि ?
सरकार बनिरहँदा लगानीकर्ता उत्साहित भएकै हो। सरकारलाई पुँजी बजारले स्वागत गरेकै हो। तर, पछिल्ला समयमा जुन किसिमको आत्मविश्वास दिनुपर्थ्यो लगानीकर्ताहरूमा त्यो आत्मविश्वास नभएको कारणले नै बजार घटिरहेको छ। बैंकमा १५ खर्ब रुपैयाँ बढी लगानीयोग्य रकम छ। वर्षभरि लगानी गरेको प्रतिफल पाउने बेला पनि आउँदै छ।
लगभग सबै बैंक वित्तीय संस्थाहरूको वित्तीय विवरण हेर्ने हो भने अघिल्लो आर्थिक वर्षको तुलनामा अलिकति सबैको राम्रै पनि देखिएको छ। उनीहरूको प्रतिफल दिन सक्ने क्षमता पनि देखिन्छ। तथापि पनि पुँजी बजार बढ्न नसक्नु अहिले हामी पनि अचम्ममा परेका छौँ। यो बेलामा त पुँजी बजार बढ्नु पर्ने हो। हरेक कुरा उपयुक्त छ। धितोपत्र बोर्डको अध्यक्षले समेत बोर्डको कामकारबाहीलाई सुधार्छु भनिरहनु भएको छ। प्रधानमन्त्री, अर्थमन्त्री आफैँ व्यापारिकहरूसँग अन्तर्क्रिया गरिरहेका छन्। तर, पनि पुँजी बजारमा हामी लगानीकर्ताहरूमा किन आत्मविश्वास आउन सकेन यो एउटा आश्चर्य छौँ।






About Us
प्रतिक्रिया