सरकारसँगको सहमति पछि घर फर्किए लघुवित्त पीडित


काठमाडौं – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि धर्नामा बसेका लघुवित्त तथा वित्तीय शोषणबाट पीडितहरू नेपाल सरकारसँग १४ बुँदे सहमति भएपछि आइतबार आ–आफ्नो घर फर्किएका छन्। सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल का प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि धर्ना तथा आन्दोलनका कार्यक्रम स्थगित गरी पीडितहरू घर फर्किएका हुन्।

सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं वार्ता टोलीका संयोजक लीलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले हस्ताक्षर गरेका थिए। सहमति भएपछि आइतबार बिहान सरकारले साझा यातायातका बसमार्फत आन्दोलनकारीलाई गन्तव्यतर्फ पठाउन थालेको हो। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना पीडितलाई आठवटा साझा बसमार्फत बिदाइ गरिएको छ।

झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लाबाट काठमाडौं आएका उनीहरूलाई आ–आफ्नो क्षेत्रतर्फ पठाइएको छ। लघुवित्त, बैंक तथा वित्तीय शोषण, सहकारी, मिटरब्याज र भूमिसम्बन्धी समस्या समाधानको माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका थिए।