राष्ट्रिय वाणिज्य बैंकको नाफा साढे ४ अर्बमाथि, वितरणयोग्य नाफा कति ?


काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको नाफामा सुधार आएको छ । बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ८३ करोड खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी बढ्दा नाफा बढेको हो । गत वर्षमा बैंकले ११ अर्ब ९६ करोड खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब १५ करोड खुद ब्याज आम्दानी गरेको थियो । 

गत वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ६३ करोड, कुल सञ्चालन आम्दानी १५ अर्ब ५ करोड र सञ्चालन नाफा ६ अर्ब ४७ करोड रहेको छ । गत वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड ६९ लाख रहेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा बैंकको वितरणयोग्य मुनाफा ८५ करोड २ लाख ऋणात्मक रहेको थियो । 

हाल बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड रहेको छ भने बैंकको जगेडा कोषमा ३९ अर्ब ३७ करोड रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ६ खर्ब ८६ अर्ब १३ करोड र ३ खर्ब ३२ अर्ब ८ करोड ३४ लाख कर्जा प्रवाह गरेको छ । 

बैंकको नाफा बढ्दा प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा १०.२७ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी गत वर्ष बढेर २९.१४ रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा पनि बढेको छ । बैंकको खराब कर्जा ३.७९ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेको छ ।